काठमाडौं । एनएमबि बैंक तथा मन्दाकिनी हाइड्रोपावरबीच २.९ मेगावाट क्षमताको कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिकामा अवस्थित माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन गर्ने सम्झौता भएको छ । यो आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी रहको छ । २.९ मेगावाट क्षमता रहेका माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनाको करिब लागत ६६ करोड १८ लाख ९४ हजार रहने जानकारी गराइएको छ भने बैंकको ऋण लगानी ४६ करोड ३३ लाख २५ हजार रहनेछ ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले प्रस्तावित आयोजना निर्धारित लागत तथा समयमा नै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावरलाई आग्रह गरेकोमा उक्त कम्पनीका अध्यक्ष शरदकुमार दाहालले वित्तीय व्यवस्थापनमा सहयोग गरेकोमा एनएमबि बैंकलाई धन्यवादज्ञापन गर्नुका साथै माथिल्लो सार्दी खोला जलविद्युत् आयोजना निर्धारित लागत तथा समयसीमामा नै सम्पन्न गर्ने विश्वास व्यक्त गरेका छन् ।
यसका लागि स्थानीय सरकारसँग सहकार्य गरेर आयोजना अगाडि बढाउने प्रतिबद्धता गरे । त्यसैगरी, मन्दाकिनी हाइड्रोपावरद्वारा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकामा प्रवर्द्धित ४ मेगावाट क्षमता रहेको सार्दी खोला जलविद्युत् आयोजनाले विस २०७४ साल मंसिर २३ गतेदेखि व्यावसायिक उत्पादन सुचारु भइरहेको र उक्त आयोजनामा समेत एनएमबि बैंकको अगुवाइमा सहवित्तीयकरणअन्तर्गत ऋण लगानी भइरहेको जानकारी दिए ।