काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली सहभागी ‘संयुक्त राष्ट्रसंघीय सम्मेलन’को आवरणमा असार १६ देखि १९ गतेसम्म स्पेनको सेभिल्ला पुगेका केही अनधिकृत व्यक्तिहरूबारे छानबिन तीव्र पारिएको छ। यही क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अन्तर्गतको विशेष छानबिन टोलीले काठमाडौंको महाराजगन्जस्थित ‘भिजिट अबरोड टुर्स एण्ड ट्राभल्स’ नामक ट्राभल एजेन्सीमा छापा मारेको हो।
एसएसपी होविन्द्र बोगटी नेतृत्वको टोलीले सो ट्राभल्सले फर्जी कागजात तयार पारेर व्यक्तिहरूलाई सम्मेलनमा पठाएको आशङ्कामा अनुसन्धान थालेको हो। यद्यपि ट्राभल्सको कार्यालयबाट सो प्रकरणसँग प्रत्यक्ष सम्बन्धित कुनै ठोस प्रमाण भने भेटिएको छैन। छानबिन टोलीका एक सदस्यका अनुसार, “स्पेनमा अनधिकृत रूपमा मानिस पठाउने सूचना पाएपछि छापा मारिएको हो। तर अहिलेसम्म ठोस प्रमाण फेला परेको छैन।”
प्रधानमन्त्री ओली १४ असारमा स्पेन गएका थिए। त्यही दिन र भोलिपल्ट अन्य अनधिकृत व्यक्तिहरू पनि विभिन्न माध्यमबाट स्पेन पुगेको प्रारम्भिक निष्कर्ष छानबिन समितिले निकालेको छ। भारतस्थित स्पेन दूतावासको आग्रहमा त्रिभुवन विमानस्थलबाट उड्न खोजेका ५५ जनालाई फर्काइएको थियो। तर अर्को समूहका ४९ जना नेपाल र भारत हुँदै स्पेन पुगेका छन्।
नयाँ दिल्लीस्थित स्पेनी दूतावासलाई कूटनीतिक च्यानलमार्फत सम्पर्क गरी ती व्यक्तिहरूको विवरण मागिएको छ। तर, अझै प्रतिउत्तर आएको छैन। प्रारम्भिक अनुसन्धानबाट कतिपय अनधिकृत व्यक्ति गैरसरकारी संस्थाका प्रतिनिधिका रूपमा सम्मेलनमा पुगेको खुलेको छ। युएनले निश्चित कोटा दिए पनि केही एनजिओहरूले आर्थिक लेनदेनका आधारमा नक्कली प्रतिनिधि बनाएर पठाएको आशंका पनि अनुसन्धानको केन्द्रमा छ। बालुवाटारस्थित बीएलएस सेन्टरमार्फत उनीहरूले कागजात पेश गरेका थिए, जुन नयाँ दिल्ली पठाइएपछि भिसा जारी भएको थियो।
असार ३१ मा गठन गरिएको छानबिन समितिमा मानव बेचबिखन ब्युरोका एसपी रुगम कुँवर, सीआईबीका डीएसपी हरि बस्नेत, इन्स्पेक्टर शेखर खड्का सहित ६ सदस्य छन्। अध्यागमन विभागसँग पनि ती यात्रुहरूको विस्तृत विवरण माग गरिएको छ। अनुसन्धानकर्ताहरूका अनुसार, “केही मानिस त्यही बाटो हुँदै स्पेन पुगेर उतै बसेको प्रारम्भिक सूचना छ। विस्तृत अध्ययनपछि थप कारबाही अघि बढाइनेछ।”