काठमाडौं । नेपाल वायुसेवा निगम सम्मानित भएको छ । भारतको नयाँ दिल्लीमा आयोजित १०औँ अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन र ट्राभल अवार्ड (आईटीसीटीए) २०२५ का अवसरमा बेस्ट एयरलाइन्स अन नेपाल रुटको प्रतिष्ठित अवार्डबाट निगम सम्मानित भएको हो ।
नयाँ दिल्लीस्थित होटल ले मेरिडियनमा आयोजित एक समारोहमा आईसीएम ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अजय गुप्ता र भारत सरकारका प्रतिनिधि नासिर असलम वानीद्वारा संयुक्तरूपमा निगमलाई उक्त सम्मान प्रदान गरिएको थियो । प्रत्येक वर्ष पर्यटन तथा उड्डयन क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने प्रतिष्ठित संस्थाहरूमध्येबाट छनौट गरी अन्तर्राष्ट्रियस्तरमा सम्मान प्रदान गर्ने उद्देश्यले यो अवार्ड समारोह आयोजना गर्ने गरिएको छ । अवार्डको यस संस्करणमा भारत सरकारका वरिष्ठ अधिकारीहरू, पर्यटन बोर्डका प्रतिनिधिहरू, अग्रणी टुर अपरेटरहरू, भारतीय तथा अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रका प्रमुख व्यवसायीलगायत सम्बन्धित विज्ञहरूको सहभागिता थियो । समारोहमा नेपाल वायुसेवा निगमको तर्फबाट दिल्लीस्थित कार्यालयका प्रतिनिधिहरू कमल ज्ञवाली, रमन निरौला र भानुभक्त कटुवाल सहभागी थिए ।
यस सम्मानले नेपालको राष्ट्रिय ध्वजावाहकको रूपमा नेपाल वायुसेवा निगमको प्रतिष्ठालाई थप मजबुत बनाएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, नेपाल–भारतबीचको पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्ध सुदृढ गर्न योगदान पुर्याउनुका साथै सुरक्षित, भरपर्दाे र यात्रुमैत्री हवाई सेवा प्रदान गर्ने निगमको प्रतिबद्धतामा थप प्रेरणा तथा हौसला प्रदान गरेको जनाइएको छ ।