काठमाडौं । सेयरबजार परिसूचक नेप्सेले अन्ततः चार वर्षयता पहिलोपटक तीन हजार विन्दु पार गरेको छ । विसं २०७८ को पहिलो त्रैमासिकमा ३२ सय अंकको सेरोफेरोमा पुगेको नेप्से गत आर्थिक वर्षमा तीन हजार विन्दुसम्म पुगे पनि माथि उक्लिन सकेको थिएन ।
मंगलबार ३० दशमलव ४९ अंकले बढेसँगै नेप्सेले तीन हजार दुई दशमलव सात विन्दुको यात्रा गरेको हो । तेस्रो कारोबार दिन सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६६ अंकले उकालो लागेर पाँच सय १८ दशमलव ५९ विन्दुमा चढेको छ । धितोपत्र बजारमा मंगलबार तीन सय २१ वटा धितोपत्रहरुको खरिदबिक्री भएको थियो । सो क्रममा एक लाख ५७ हजार पाँच सय २५ पटक कारोबार भयो । लगानीकर्ताहरुले यो कारोबारमा चार करोड १८ लाख आठ हजार नौ सय ६६ कित्ता सेयर किनबेच गरेका हुन् । योसँगै कुल कारोबार रकम १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार आठ सय ८५ रुपैयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमूहहरुको सेयर कारोबार भएका छन् । यीमध्ये वाणिज्य बैंक १७ दशमलव ५७, जलविद्युत् १५ दशमलव ९४, जीवन बीमा एक सय ३९ दशमलव ५१, निर्जीवन बीमा एक सय ४५ दशमलव ३७ अंकले बढेका छन् । त्यसैगरी लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र अन्य उपसमूहको सूचक पनि क्रमशः एक दशमलव ३१, ७२ दशमलव १७, ८८ दशमलव २७, शून्य दशमलव १७, ७२ दशमलव ३६ र १५ दशमलव ९७ विन्दुले उकालो लागेका छन् ।
विकास बैंक र फाइनान्स भने घटेका छन् । विकास बैंक ३२ दशमलव ३६ अंक र फाइनान्स दुई दशमलव ८६ अंकले ओरालो लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
तीन सेयरमा सकारात्मक सर्किट
मंगलबार मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर लिमिटेड र सान्भी इनर्जी लिमिटेडको सेयर मूल्यमा पोजिटिभ सर्किट ब्रेक लागेको छ । समता घरेलु लघुवित्त वित्तीय संस्था, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य भने उच्चरुपमा घटेका छन् ।
त्यसैगरी, हिमालयन डिस्ट्रिलरी कम्पनी र ग्रिन भेञ्चर लिमिटेडको सबैभन्दा बढी रकम कारोबार भएको छ । हिमालयन डिस्ट्रिलरीको १५ सय २४ रुपैयाँ अन्तिम मूल्यमा ६४ करोड ४१ लाख ३८ हजार दुई सय ७५ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसबाहेक ग्रिन भेञ्चरको छ सय २२ रुपैयाँ अन्तिम मूल्यमा ६३ करोड ८२ लाख ४३ हजार पाँच सय २१ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।