काठमाडौं । भुक्तानी नेटवर्क फोन–पे र सामाजिक सुरक्षा कोषबीच सम्झौता भएको छ । प्रवासी नेपाली श्रमिकलाई लक्षित गर्दै डिजिटल माध्यमबाट कोषमा योगदान बुझाउने सुविधा सुरु गर्ने विषयमा यी दुई संस्थाहरूबीच सम्झौता भएको हो ।
सम्झौतामा फोन–पेका तर्फबाट प्रमुख सञ्चालन अधिकृत पारस कुँवर र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौता भएसँगै अब विदेशमा रहेका नेपाली श्रमिकले फोन–पे नेटवर्कअन्तर्गतका बैंकको मोबाइल बैंकिङ एपमार्फत सिधै सामाजिक सुरक्षा कोषमा योगदान बुझाउन सक्नेछन् । यो पहलले फोन–पे नेटवर्कको पहुँच र प्रविधिको उपयोग गरी योगदान प्रक्रिया अझ सहज र सुलभ बनाउने लक्ष्य राखेको छ ।
सम्झौता कार्यक्रममा फोन–पेका प्रमुख सञ्चालन अधिकृत पारस कुँवर भने फोन–पे नेटवर्कको व्यापक पहुँचका कारण यो सहकार्य प्रवासी नेपाली श्रमिकका लागि निकै उपयोगी हुनेछ बताए । ‘यसले उनीहरूलाई सामाजिक सुरक्षा कोषमा सहज तरिकाले योगदान गर्न सहयोग पु¥याउनेछ र रेमिट्यान्स पठाउन औपचारिक च्यानलको प्रयोगलाई पनि प्रोत्साहन गर्नेछ’, उनले भने । सो अवसरमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले यो कार्यले प्रवासी श्रमिक र नेपालको सामाजिक सुरक्षा प्रणालीबीचको सम्बन्ध अझै मजबुत बनाउने विश्वास व्यक्त गरे । ‘हाम्रो उद्देश्य हरेक नेपाली श्रमिकको आर्थिक सुरक्षा सुनिश्चित गर्नु हो । फोन–पे नेटवर्कमार्फत मोबाइल बैंकिङ प्रयोग गरी योगदान प्रक्रिया अझ सरल र पहुँचयोग्य हुने विश्वास गरेका छौँ’, उनले भनेका छन् । यो सेवा अहिले फोन–पे बिल्स (अनलाइन पेमेन्ट) प्लेटफर्ममार्फत सुरु भइसकेको कम्पनीले जानकारी दिएको छ ।