रसुवा । नेपाल चीनको सिमानामा अवस्थित ल्हेन्दे खोलामा गए राति पुनः आएको बाढीले स्याफ्रुबेँसी रसुवागढी सडकमा क्षति पुर्याएको छ । बन्द भएको सडक खुलाउन काम सुरु गरिसकेको जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार ल्हेन्दे खोलामा बुधबार विहान आएको बाढीले गत असार २४ गतेको बाढीबाट जोगिएको टिमुरे सुक्खा बन्दरगाहको माटो बगाएको र नदी कटानले सडकमार्ग क्षति भएका कारण साना ठूला सबै प्रकारका सवारीसाधन टिमुरे खण्डको आवतजावत पूर्ण रूपमा बन्द भएको ।
जिल्ला विपद् व्यवस्थापनका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारीले चिनियाँ भूभागमा भारी वर्षा भइरहेका कारण पटकपटक आउने बाढीप्रति पूर्वसावधानी अपनाउँदै नदी किनारको तटीय क्षेत्रमा बसोबास नगर्न जिल्लावासीलाई आग्रह समेत गरेका छन् ।
प्रजिअ पौडेलले गए रातिको बाढीले सडक संरचनाबाहेक अन्य धनजनको क्षति नभएको समेत जानकारी दिए । ल्हेन्दे खोलाको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढ्दै छ भन्ने जानकारी गए रातिनै तटीय क्षेत्रमा जानकारी गराइएको थियो ।