काठमाडौं, नागरिक उन्मुक्ति पार्टी (नाउपा)को आज काठमाडौंमा जारी राष्ट्रिय भेलाले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाउने सम्भावना बलियो बनेको छ। बानेश्वरस्थित एक पार्टी प्यालेसमा जारी भेलामा बहुमत केन्द्रीय सदस्यको उपस्थितिमा श्रेष्ठमाथि अनुशासनात्मक कारबाही अघि बढाउने तयारी भएको हो। पार्टी श्रोतका अनुसार, अध्यक्ष श्रेष्ठले बहुमत सदस्यको बैठक बोलाउने आग्रहलाई बेवास्ता गर्दै कार्यबाहक अध्यक्ष बिधिविपरीत तोकेको भन्दै असन्तुष्ट पक्ष आक्रोशित बनेका छन्। यसै क्रममा केही दिनअघि बसेको केन्द्रीय समितिको बहुमत बैठकले श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन आग्रह गरेको थियो। तर, समयसीमा सकिँदासमेत उनले कुनै प्रतिक्रिया नदिएपछि पार्टीको अनुशासन समितिले अध्यक्ष श्रेष्ठमाथि औपचारिक रूपमा कारबाही सिफारिस गरेको स्रोतले जनाएको छ। पार्टीको अन्तरविरोध चुलिँदै जाँदा नेतृत्वमा ठूला फेरबदलका संकेत देखिन थालेका छन्। भेला जारी नै रहेकाले अन्तिम निर्णय आउन बाँकी भए पनि रञ्जिता श्रेष्ठको अध्यक्ष पद संकटमा पर्दै गएको संकेत राजनीतिक विश्लेषकहरूले गरेका छन्।