काठमाडौं । अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माणका लागि कार्यदल गठन गरेको छ । मन्त्रालयअन्तर्गतको वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख महेश बरालको संयोजकत्वमा उक्त कार्यदल गठन गरिएको हो ।
मन्त्रालयका अनुसार कार्यदलको सदस्यहरुमा अर्थ मन्त्रालयका बजेट महाशाखाका उपसचिव, अर्थ मन्त्रालयको कानुन तथा फैसला महाशाखाका उपसचिव र विषय विज्ञमा पूर्व सहसचिव निर्मलहरी अधिकारी छन् । कार्यदलको सदस्यसचिवमा वित्तीय संघीयता महाशाखाका उपसचिव रहेको अर्थले जनाएको छ ।
चालू आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको बुँदा नं. ३५९ मा विनियोजन कुशलता कायम गरी सार्वजनिक वित्तको प्रभावकारिता वृद्धि गर्ने, बजेट अनुशासनबाट सार्वजनिक खर्चको उपलब्धि बढाउने, संघीय सञ्चित कोषलाई सन्तुलनमा राख्न नगद प्रवाह व्यवस्थापनलाई सुढृढ बनाउने उल्लेख छ । यसैगरी, सार्वजनिक ऋणको उत्पादनशील उपयोग र दिगोपन सुनिश्चित गर्ने र राष्ट्रिय वित्त व्यवस्थापन सुधार रणनीति कार्यान्वयन गर्ने उल्लेख छ ।
बजेटको बुँदा नं. ३७१ मा संविधानले निर्दिष्ट गरेबमोजिम संघ, प्रदेश र स्थानीय तहमा बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माण गर्ने र तीनै तहमा लागू हुने गरी सार्वजनिक खर्च मापदण्ड तर्जुमा गर्ने उल्लेख छ । बजेटमा रहेको ती व्यवस्थाहरुलाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयले कार्यदल गठन गरेको हो ।
संविधानको धारा ५९ मा संघ, प्रदेश र स्थानीय तहको बजेट घाटा व्यवस्थापन तथा अन्य कानुन अनुशासनसम्बन्धी व्यवस्था संघीय कानुनबमोजिम हुने उल्लेख छ ।