काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का बहुमत केन्द्रीय सदस्यको बुधबारको बैठकले पार्टीकी संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
कास्कीको भूमि आयोग अध्यक्ष र मालपोत प्रमुख सरुवा प्रकरणमा मुछिएकी रञ्जिताले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलालाई दिएपछि आफ्नै श्रीमान् रेशम चौधरी पक्षका केन्द्रीय सदस्यहरुले उनलाई अध्यक्षबाट हटाउने निर्णय गरेका हुन् ।
टीकापुर नरसंहारमा मुछिएका श्रीमान् रेशम पार्टी सदस्य हुन समेत अयोग्य रहेको भन्दै अदालतमा जवाफ पेस गरेकी श्रेष्ठलाई रेशम पक्षीय बहुमत केन्द्रीय सदस्यहरूले अध्यक्षबाट हटाएका हुन् । रञ्जिता २०७८ पुस १९ गते गठित उक्त पार्टीकी संस्थापक अध्यक्ष हुन् ।
पूर्व सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमिसुधारमन्त्री भइसकेकी रञ्जिता र मन्त्रीलाई पैसा बुझाउने व्यक्तिबीच निरन्तर संवाद भएको अडियो सार्वजनिक भएको छ । त्यही प्रकरणमा रञ्जितालाई अख्तियारले बयानका लागि बोलाएको थियो । पार्टी अध्यक्षबाट हटेकी रञ्जितालाई रेशम पक्षले २०८१ असारमा संसदीय दलको नेताबाट हटाएर गंगाराम चौधरीलाई बनाएको थियो ।