दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–५ तामाकोशीमा रहेको आर्क ब्रिज निर्माणको काम विगत नौ वर्षदेखि अलपत्र बनेर बसेको छ । भीमेश्वर नगरपालिका र बैतेश्वर गाउँपालिकाको सिमानामा रहेको सो पुल निर्माणका लागि २०७३ साल भदौमा सम्झौता भएको थियो । दोलखा–रामेछाप जोड्ने उक्त पुल ठेकेदारले अलपत्र पारेको झण्डै एक दशक बित्न लाग्दा समेत जिल्लाका जनप्रतिनिधि तथा राजनीतिक दलहरुले चासो नदेखाउँदा ठेकेदारको मनोमानीमा पुल बेवारिसे बन्न पुगेको छ । निर्माण कम्पनी निलगिरी–नेसन जेभीले २०७३ भदौ २३ मा ठेक्का सम्झौता गरेर २०७४ असार १९ मा आरसीसी आर्क ब्रिजको डिजाइन स्वीकृत गरेर दुई वर्षभित्र निर्माण सक्ने सहमति गरेको थियो । कम्पनीले करिब ५०/६० प्रतिशत भौतिक प्रगति गरे पनि त्यसपछिको निर्माण प्रगति शून्य छ ।
पुलका केही संरचना निर्माण गरेर वर्षौँदेखि अलपत्र पार्दा निर्माण गरिएका आर्कको बिम तथा पिलरमा समेत अहिले खिया लागेर बेवारिसे बनेका छन् । पुलको ठेक्का सम्झौतापछि दुई वटा निर्वाचन सम्पन्न भए तर सो पुल निर्माणको लागि कुनै राजनीतिक दलले प्रतिबद्धता नै जनाएनन् । उनीहरुको प्राथमिकतामा सो पुल निर्माणको विषय नै नबनेको स्थानीय रमेश कार्कीले बताए । उक्त पुल निर्माणका लागि दोलखाबाट प्रदेश र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले संसद्मा समेत आवाज नउठाएको कार्कीको गुनासो छ । जिल्लाबाट प्रतिनिधि गर्ने सांसदहरुले संसद्मा विषय उठान नगरेकै कारण पनि ठेकेदार निर्माणमा नफर्किएको उनको आरोप छ ।
जिल्लाका चार पालिकालाई जोड्ने पुल अलपत्र पर्दा यहाँका स्थानीय निराश र आक्रोशित बनेका छन् । पुलसँगै ठेक्का लागेको ५४ किलोमिटर चरिकोट–जिरी सडक पाँच वर्षअघि निर्माण भइसकेको छ । तर ७५ दशमलव १६ मिटर लम्बाइको पुल अलपत्र छ । भ्याट रकमसहित नौ करोड ७४ लाख ९६ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको लामोसाँघु–जिरी सडकखण्डअन्तर्गत पर्ने तामाकोशी पुलमा ठेकेदारले सुरुवाती चरणको निर्माणमा पाँच करोड ३६ लाख १९ हजार खर्च गरिसकेको छ ।
सडक पुल महाशाखा सेक्टर नम्बर–२ ललितपुरले तीन पटक निर्माण अवधिको म्याद थप गरिसकेको छ । उक्त म्याद थप्दा समेत पुल निर्माण नभएपछि अहिले असोजसम्मको लागि कम्पनीको पेस्की रकम रोकेर राखेको सडक पुल महाशाखा सेक्टर नम्बर–२ ललितपुरकी कार्यालय प्रमुख आरती शर्माले बताइन् । निर्माण कम्पनीले विभिन्न प्राविधिक समस्या देखाएर पुल निर्माणका कामलाई अघि बढाउन नसकेको बताउँदै आएको छ । चालू वर्षको मंसिरसम्म पुल निर्माण गर्ने कम्पनीले प्रतिबद्धता जनाएको उनले जानकारी दिइन् । हाल ४०÷४५ वर्षअघि निर्माण भएको जीर्ण अवस्थाको पुलबाट दैनिक सयौँ सवारी ओहोरदोहोर गर्दै आएका छन् ।