काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीको अवसरमा काठमाडौंको मनमैजुमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा महिलाहरुको स्तन जाँच तथा पाठेघरको मुखको क्यान्सर परीक्षणअन्तर्गत एक सयभन्दा बढी महिलाहरुले सेवा लिएका थिए ।
मुलुकको समग्र चेम्बर अभियानको ७५औँ ऐतिहासिक वर्षगाँठको अवसरमा चेम्बरले यो वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । हीरक जयन्ती मूल समारोह समितिको समन्वयमा भएको कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर र सिल्भरलाइन हस्पिटलले प्राविधिक सहयोग गरेका थिए । बृहत् स्वास्थ्य परीक्षण कार्यक्रममा चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले हीरक जयन्तीका अवसरमा बृहत स्वास्थ्य परीक्षणलगायतका अन्य विभिन्न कार्यक्रमबाट लाभ लिन महिलाहरुलाई आग्रह गरे । महिलाहरुले स्वास्थ्य तन्दुरुस्तीका साथै आर्थिक लाभ हुने गरी उद्यमी र व्यावसायिक गतिविधि समेत गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
साढे सात दशकदेखि क्रियाशील निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो संस्था चेम्बरले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका विभिन्न गतिविधिहरुलाई हीरक जयन्तीको अवसरमा उजागर गरिने संस्थाले जनाएको छ ।