वासिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई २५ प्रतिशतसम्म आयात शुल्क लगाउने चेतावनी दिएका छन् । व्यापार वार्ताको लागि अगस्ट १ को समय तोकेका उनले उक्त समय आउनु दुई दिनअघि भारतमाथि दबाब सिर्जना गरेका हुन् ।
त्यसो त उनले मंगलबार नै रिपोर्टरहरुलाई प्रतिक्रिया दिँदै २५ प्रतिशतसम्म आयात शुल्क लाग्न सक्ने बताएका थिए । बुधबार सामाजिक सञ्जालमा उनले भारतको व्यापार अवरोधको अभ्यासको आलोचना गरेका थिए । उनले भारतको रुसी कच्चा तेल र सैन्य उपकरण खरिदलाई लिएर पनि आलोचना गरेको सीएनएनले जनाएको छ । उनले सबै भारतीय आयातमा उक्त दरअनुसार शुल्क लगाउने बताएका छन् ।
‘याद राख्नु, भारत हाम्रो मित्र हो तर हामीले विगत वर्षहरुमा थोरै मात्र व्यवसाय उनीहरुसँग गर्दै आएका छौँ । किनभने उनीहरुको शुल्क धेरै माथि छ । विश्वकै उच्चमध्ये उनीहरुले शुल्क लगाउँछन् । ठूलो व्यापार अवरोध छ’, उनले भनेका छन्, ‘साथसाथै उनीहरुले रुसबाट अत्यधिक सैन्य उपकरणहरु किन्दै आएका छन् । रुसको ऊर्जा खरिदकर्तामा चीन र भारत नै अगाडि छन् । त्यो पनि यस्तो बेला उनीहरुले रुसबाट खरिद गरिरहेका छन्, जुन बेला हरेक मानिसले युक्रेनमा हिंसा अन्त्य भएको देख्न चाहेका छन्– यी सबै राम्रो काम होइनन् ।’
अमेरिकाले आफ्ना व्यापार साझेदार राष्ट्रहरुसँग भकाभक व्यापार सम्झौता गरिरहेका बेला भारतलाई ट्रम्पको चेतावनी आएको हो । हालसम्म भएका व्यापार सम्झौताहरुमा १५ देखि २० प्रतिशतसम्मको आधारशुल्क तोकिएको छ । भारतको हकमा ट्रम्पको अभिव्यक्ति अप्ठ्यारो हुने देखिएको छ । दुवै देशका अधिकारीहरुले भने यसअघि नै व्यापार सम्झौता हुने आशा गरेका थिए । वासिङटन र नयाँ दिल्लीले महिनौँदेखि अन्तिम सम्झौताको कसरत गरिरहेका थिए । तर पछिल्लो समय जापान र युरोपेली संघसँग सम्झौता भएसँगै ट्रम्प हौसिएका छन् ।
त्यसो त हरतरहको प्रयास असफल भएपछि अमेरिकी अधिकारीहरुले पनि भारतमाथि २५ प्रतिशत शुल्क लगाउँदा त्यसले नै व्यापार सम्झौताको नजिक पुग्न सकिने आशा गरेका छन् । योसँगै भारतलाई पनि आफूले गरिरहेको व्यापार अभ्यासबारे पुनर्विचार गर्न प्रेरित गर्ने अमेरिकी अधिकारीहरु बताउँछन् ।
सँगसँगै राष्ट्रपति ट्रम्पले रुसको ऊर्जा निर्यातलाई समेत दोस्रो प्रतिबन्ध लगाउने चेतावनी पनि दिइरहेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धविरामको बेवास्ता गरेको झोँकमा ट्रम्प पछिल्ला दिनहरुमा पुटिनप्रति असन्तुष्ट बनिरहेका छन् । यदि दोस्रो प्रतिबन्ध पनि अख्तियार गरिए भारत र चीनजस्ता देशहरुलाई झनै अप्ठ्यारो पर्न सक्नेछ । यो वर्ष भारत रुसको शीर्ष तेल आयातकर्ता बनेको छ ।