काठमाडौं, नागरिक उन्मुक्ति पार्टी (नाउपा) की निलम्बित अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीमाथि पार्टी विधानविपरीत कार्य गरेको आरोप लगाउँदै २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन माग गरेकी छन्।पार्टीको केन्द्रीय कार्यालयको लेटरहेड प्रयोग गरी तीन पृष्ठ लामो पत्र जारी गर्दै श्रेष्ठले आफू अस्वस्थ्य भएका बेला चौधरीले केन्द्रीय समिति बैठक आह्वान गर्नु, महासचिवको हैसियतमा निर्वाचन आयोगमा पत्र पठाउनु र व्यक्तिगत रूपमा पार्टी एकता तथा अनुशासनविपरीत निर्णयहरू गर्नुजस्ता गतिविधि गरेको आरोप लगाएकी हुन्।
श्रेष्ठले पत्रमार्फत चौधरीका निर्णयहरू पार्टीको आन्तरिक विधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र निर्वाचन आयोगसमक्ष पेश गरिएका कागजातको उल्लङ्घन भएको दाबी गरेकी छन्।उनले चौधरीलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण नपठाए पार्टी विधानअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएकी छन्।
श्रेष्ठले आफू अझै पनि पार्टीको वैधानिक अध्यक्ष र प्रतिनिधि रहेको दाबी गर्दै आफूलाई बर्खास्त गरिएको भन्ने प्रचार भ्रमपूर्ण भएको उल्लेख गरेकी छन्। यस पत्रको प्रतिलिपि पार्टीको निर्वाचन तथा अनुशासन विभाग र निर्वाचन आयोगमा समेत पठाइएको जानकारी दिइएको छ।