काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरुको मूल्य हेरफेर गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट बिहीबार आएको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्य निर्धारण गरेको हो ।
यसअनुसार बिहीबार मध्यरातिदेखि पेट्रोल प्रतिलिटर एक रुपैयाँले सस्तो भएको छ । इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको मूल्य प्रतिलिटर ८७ पैसाले घटेर आएको थियो । त्यसैगरी, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ ५० पैसाले बढेर आएकाले निगमले नेपालमा दुई रुपैयाँले मूल्य बढाएको छ ।
त्यसैगरी, तीन रुपैयाँ छ पैसा प्रतिलिटर बढेर आएपछि हवाई इन्धनको मूल्य आन्तरिकतर्फ तीन रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर २१ ले बढाइएको निगमले जनाएको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ । निगमले खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्यलाई भने यथावत् नै राखेको छ ।