काठमाडौं । संघीय संसद् सचिवालयको २०७८ साल कात्तिक ३० गते प्रकाशित सूचनाअनुसार २०८२ साल असार ११ गते बसेको बढुवा समितिको बैठकले उपसचिव पदमा कार्यरत कान्छा दुलाललाई सहसचिव (राजपत्राङ्कित प्रथम श्रेणी) बढुवाका लागि सिफारिस गरेर असार १२ गते सूचना प्रकाशित गर्यो ।
असार १२ गतेको सूचनाअनुसार साउन १४ गते ३५ दिन पूरा भएपछि ३६औँ दिन बिहीबार संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले आफ्नै कार्यकक्षमा भएको कार्यक्रममा बढुवाका लागि सिफारिस गरिएका उनै दुलाललाई नियुक्ति पत्र दिएका थिए ।
सहसचिवमा बढुवा नियुक्ति बुझेका दुलाल संसद्का पुरानामध्येका कर्मचारी मात्र थिएनन् तल्लो तह अर्थात् बैठके पदमा नियुक्ति बुझेर निरन्तर काम गर्दै आएर राजपत्राङ्कित प्रथम श्रेणीमा पुगेका कर्मचारी हुन् । जन्म दिने आमा र बाबु कसैको पनि मायाममताको अनुभव नै लिन नपाएका दुलालले जन्मेको झण्डै २४ वर्षको उमेर अर्थात् २०४८ सालमा मात्र एसएलसी उत्तीर्ण गर्न पाए । २४ वर्षसम्म एसएलसी उत्तीर्ण गर्न नसक्नु असफल भएर होइन, खाने र बस्ने ठेगान नभएर हो । जसले पढाइदिन्छ उसकै घरमा बसेर काम गर्दै पढ्दै आएर उनले २४ वर्षको उमेरमा एसएलसी पास गरेका थिए ।
उनी जन्मेको करिब २६ महिनामा आमा गुमाएका थिए भने चार वर्ष नपुग्दै उनका बुबा बेपत्ता भएका थिए । अहिलेसम्म बुबाको कुनै अत्तोपत्तो छैन । बुबाको जन्म भएको एक सय वर्ष पुगेको मिति पारेर २०७२ सालमा काजकिरिया त गरियो तर पनि उनको बुबाको मृत्यु भयो वा भएन ? भएको भए कहिले भयो ? कहाँ भयो ? अहिलेसम्म कुनै सूचना पाउन सकेका छैनन् ।
आमा र बुबाको अनुहार नै पत्तो नपाएका दुलाल १५ वर्षको उमेरमा चार कक्षासम्म पढेर काभ्रेमा पर्ने हालको मण्डन देउपुर नगरपालिका– ६ (देउपुर गैरी)बाट काठमाडौं उपत्यका छिरेका थिए । उनले उपत्यकामा एउटा घरेलु कामदारको रुपमा विभिन्न ठाउँमा काम गर्दै २४ वर्षको उमेरमा एसएलसी पास गरेका हुन् ।
नागरिकतामा उल्लेख भएअनुसार उनको जन्म २०२४ सालमा भएको हो । १५ वर्षको उमेरमा काठमाडौं छिरेको एउटा युवा पैसाका लागि भौतारिनेभन्दा पनि सामान्य काम गरेर भए पनि पढ्नुपर्छ भन्ने पक्षमा उभियो । त्यही दृढ अठोटका कारण उनले तल्लो तहदेखि जागिर सुरु गरेर जागिरलाई बाधा नपारी पढेर राजनीतिशास्त्रमा स्नातकोत्तर (एमए) गरे । त्यही प्रमाणपत्र अहिले सहसचिव बढुवाका लागि अचूक अस्त्र बन्यो ।
दुलालसँगै नियुक्त भएकाहरु अहिलेसम्म संसद्मा विभिन्न पदमा कार्यरत छन् । तर उनीहरु सहसचिव पदमा पुग्ने छैनन् । आफू माथिल्लो तहमा पुगे पनि उनीहरुप्रति समकक्षीकै व्यवहार गर्ने गरेका कारण सहसचिव नियुक्ति बुझ्दै गर्दा मात्र होइन पदभार ग्रहण गर्दा पनि उनलाई बधाई दिन संसद्को तल्लोदेखि माथिल्लो तहका अधिकांश कर्मचारी खुसीका साथ पुगेका थिए । आफूहरु सहसचिव हुन नपाए पनि दुलाल सहसचिव भएको देख्दा उनीहरुको चेहरा पनि उज्यालो थियो । दुलाल खरो स्वभावका छन् तर आफ्नो निहित स्वार्थका लागि बोलेका होइनन् भन्ने बुझेरै सबै तहका कर्मचारीले उनलाई बधाई दिँदै सफल बनाउन सहयोग गर्ने बचन समेत दिए ।
दुलालले २०४८ साल असार ५ गते संसद् सचिवालयमा बैठके पदमा नियुक्ति लिएका थिए । उक्त पदमा कहिले ज्यालादारी, करार, अस्थायी त कहिले विनातलब पनि काम गरे । उनको त्यही खटाइको कारण २०४९ साल वैशाख १६ गते बैठके पदमा स्थायी नियुक्ति पाए । त्यसपछि उनमा आफूलाई खान लगाउन र पढ्न सक्छु भन्ने हिम्मत आयो । संसद्मै सहसचिव हुन्छु भन्ने त उनले कल्पना नै गरेका थिएनन् ।
एउटा टुहुरो र खान पनि समस्या भोगिरहेको व्यक्तिले स्थायी जागिर पाउनु साउन १५ गते बिहीबार सह–सचिवमा बढुवा नियुक्ति पत्र बुझेकोभन्दा ठूलो सफलता र खुसीयालीको दिन थियो । त्यसलाई उनी सहजै स्वीकार गर्छन् । ‘मलाई आफ्नो यथार्थ लुकाएर आर्दशवादी बन्नु छैन’, उनी भन्छन्, ‘मैल मेहनत गरेँ, पढाइलाई निरन्तरता दिएँ, मेहनत गर्नुपर्छ भनेर दुई सन्तानलाई सिकाएको कारण आज दुवैजना उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलियाको मेलवर्नमा छन् ।’ दुई सन्तान र आफू मात्र होइन उनकी श्रीमती पनि सरकारी जागिरमै छिन् ।
लोकसेवाको परीक्षामा उत्तीर्ण भएपछि उनले राजीनामा दिए । त्यसपछि २०५४ साल वैशाख १६ गते राप.अन. द्वितीय श्रेणीको खरिदारमा लोकसेवा आयोगको सिफारिसमा नियुक्ति बुझे । राजीनामा दिए पनि जागिरको सुरुको अवधि जोडिने नियम बनेपछि उनले सुरु नियुक्तिकै अवधि गणना गर्न पाए ।
२०५९ साल असार १९ गते उनी नायब सुब्बा पदमा बढुवा भएका थिए । २०६७ साल वैशाख ४ गते राप. तृतीय शाखा अधिकृतमा बढुवा नियुक्ति लिएका दुलालले २०७२ साल माघ १२ गते राप. द्वितीय उपसचिवमा बढुवा भएका थिए । त्यसपछि २०८२ साल साउन १५ गते बिहीबार राप. प्रथम सहसचिवमा बढुवा नियुक्ति लिएका हुन् । उनी अब २०८४ साल वैशाख ३ गतेसम्म सहसचिव पदबाट अनिवार्य अवकाशमा जाने छन् । निडर र खरो स्वभावका दुलाललाई संसद्का महसचिवले राज्य व्यवस्था तथा सुशासन समिति सचिवको रुपमा कामकाज गर्न तोकिदिएका छन् भने सांसद सुविधा व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी पनि दिइएको छ ।