काठमाडौ । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानमा भएका कमीकमजोरी सच्याउनका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको बताएका छन् ।
‘ट्रान्सफरिङ नेपाल ब्यालेन्सिङ ग्रोथ विद् इक्युटी’ नामक पुस्तक विमोचन गर्दै उनले राजनीतिक स्थायित्वमा जोड दिएका हुन् । संविधानसभाबाट संविधान बन्दाको अवस्था बिर्सिन नहुने भन्दै उनले तत्कालीन समयको सहमतिको दस्तावेजका रुपमा संविधान आएको बताए । ‘संविधानसभाबाट संविधान जारी गर्दाको पृष्ठभूमि बुझ्न जरुरी छ । दुईपटक संविधानसभा विघटन भएको यथार्थ बिर्सनुभएन,’ उनले भने, ‘संविधान सहमतिकै दस्तावेज हो । हामीले बनाएको संविधानमा भएको कमीकमजोरी हामीले नै हटाउने हो । त्यसका लागि पोलिटिकल स्ट्याबिलिटी जरुरी छ ।’
यसैगरी, उनले पुस्तक पुष्कर बज्राचार्य, मोहनदास मानन्धर र रोजन बज्राचार्यले संयुक्तरुपमा लेखेको यो पुस्तकले देशले लिइरहेको आर्थिक नीतिको गहिरो अध्ययन गरेको बताए । नेपालको समग्र अर्थतन्त्रलाई राम्रो बनाउने आधार खोज्न पुस्तकले बाटो देखाउने उनको भनाइ थियो ।