खाँदबारी (सङ्खुवासभा) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले खाँदबारी नगरपालिका–१ मा पावर हाउस सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी २० दिने तालिमको शुक्रबार उद्घाटन समारोहमा रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव रहेको बताएका छन् ।
सङ्खुवासभालाई जलविद्युत्को केन्द्रका रूपमा विकसित गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनुपर्ने पनि उनले बताए । उनले अरुण तेस्रो, अपर अरुण, लोअर अरुण, अरुण चौथोजस्ता बहुचर्चित आयोजना निर्माणको चरणमा रहेकाले यिनको यसबाट स्थानीय युवाले लाभ लिनुपर्ने बताए ।
मन्त्री खड्काले आयोजनाको दीर्घकालीन लाभ र सफलताका लागि प्राविधिक सीप हासिल गरेका स्थानीय युवाको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने बताए । खड्काले खाँदबारीमै प्राविधिक शिक्षालय स्थापना गर्ने योजना रहेको जनाउँदै स्वास्थ्य, निर्माण, काठमिस्त्री, पाइप जडान, विद्युतीय क्षेत्रका मिस्त्रीजस्ता विभिन्न शाखाका तालिम सञ्चालन गरिने जानकारी दिए ।