काठमाडौं ।एकैपटक झण्डै दुई दर्जन बीमा कम्पनीहरु नियामकीय कारबाहीमा परेका छन् । नेपाल बीमा प्राधिकरणले जारी गरेको परिपत्र, बीमासम्बन्धी ऐन नियमको उल्लङ्घन गरेको कारण कम्पनीहरु कारबाहीमा परेका हुन् । स्रोतका अनुसार १२ निर्जीवन, सात वटा जीवन बीमा, तीन लघु जीवन बीमा, चार लघु निर्जीवन बीमा र पुनर्बीमातर्फ एउटा कम्पनीलाई प्राधिकरणले कारबाही गरेको छ । कारबाहीमा परेकाहरुमा निर्जीवन बीमातर्फ नेपाल इन्स्योरेन्स कम्पनी, ओरियन्टल इन्स्योरेन्स कम्पनी, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स कम्पनी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी, प्रभु इन्स्योरेन्स कम्पनी, आईजीआई पु्रडेन्सियल इन्स्योरेन्स कम्पनी, शिखर इन्स्योरेन्स कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी, सिद्धार्थ इन्स्योरेन्स कम्पनी, हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी र सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी छन् ।
त्यसैगरी, जीवन बीमातर्फ पनि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी, रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी छन् । प्राधिकरणका अनुसार कारबाहीमा पर्ने लघु जीवन बीमा कम्पनीहरुमा भने गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनी, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनी र लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । यसैगरी, लघु निर्जीवन बीमातर्फ पनि नेपाल माइक्रो इन्स्योेरेन्स कम्पनी, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी छन् ।
पुनर्बीमातर्फ भने हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई कारबाही गरिएको छ । कम्पनीहरुले तोकिएको समयमा न्यूनतम पुँजी वृद्धिको योजना पेस नगरेको, निर्धारित समयमा वार्षिक साधारणसभा नगरेको, समयमा वित्तीय विवरण पेस नगरेको, दाबी भुक्तानीमा ढिलासुस्ती गरेको, लामो समयसम्म लेखापरीक्षण नगरेको, दाबी भुक्तानी र मूल्याङ्कन आदि कार्यमा अनावश्यक ढिलासुस्ती गरेकोलगायतका कैफियतका आधारमा एकैपटक दुई दर्जन बीमा कम्पनीहरुलाई कारबाही गरिएको हो । जरिवाना नगरिए पनि कम्पनीहरु र तिनका प्रमुख कार्यकारीहरुलाई सचेत गराइएको छ ।