काठमाडौं, नेपाली एमएमए फाइटर रवीन्द्र ढाटले भारतीय फाइटर चुनरेङ कोरेनलाई पराजित गर्दै म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) को बान्टमवेट टाइटल जितेका छन्। यो जितसँगै उनी एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली बनेका छन्, जसले नेपालको मिश्रित मार्सल आर्ट्स इतिहासमा नयाँ अध्याय थपेको छ। ‘दि इन्डियन राइनो’ उपनामले परिचित शक्तिशाली फाइटर कोरेनले सुरुदेखि नै आक्रामक दबाब सिर्जना गर्न खोजे पनि रवीन्द्रले अत्यन्त संयमित र रणनीतिक प्रदर्शन गरे। तेस्रो राउण्डमा खेलको प्रवाह पूर्णतः बदलिएपछि, रवीन्द्रका तीव्र प्रहारहरूले कोरेनलाई संकटमा पार्‍यो। अन्ततः निर्णायक कम्बिनेसन प्रहारपछि रेफ्रीले फाइट रोके र रवीन्द्रलाई TKO (टेक्निकल नकआउट) द्वारा विजेता घोषित गरियो। यो जितसँगै रवीन्द्र ढाटको प्रोफेशनल रेकर्ड ८–१ पुगेको छ भने उनले कोरेनको पाँच खेल लामो अपराजित यात्रामा पूर्णविराम लगाएका छन्।विजयी क्षणमा रंगशाला उत्साहले गुञ्जायमान थियो, जहाँ रवीन्द्रले पिजरमाथि नेपाली झन्डा फहराउँदै राष्ट्रिय गौरव अभिव्यक्त गरे। एमएमएमा नेपालको उपस्थिति बलियो बनाउने दिशामा यो जित ऐतिहासिक मानिएको छ।