काठमाडौं, सवारीसाधन चालक अनुमतिपत्रको अवधि लम्बिएको छ । सरकारले सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स)को विद्यमान अवधिमा संशोधन गरेको हो । राजपत्रमा प्रकाशित सूचनाअनुसार अबदेखि चालक लाइसेन्स हरेक १० वर्षमा नवीकरण गरे हुने भएको हो । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐनअनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको ५ वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान लम्ब्याएर १० वर्ष राखिएको छ ।
‘उक्त ऐनको दफा ५४ को उपदफा ३ मा रहेका पाँच वर्षसम्म भन्ने शब्दहरुको सट्टा दश वर्षसम्म भन्ने शब्दहरु राखिएका छन्’, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐनको दफा २३ मा भनिएको छ, ‘दफा ५६ को उपदफा ३ मा रहेका पाँच वर्षसम्मको भन्ने शब्दहरुको सट्टा दश वर्षसम्मको भन्ने शब्दहरु राखिएका छन् ।’यसअघि लाइसेन्सको अवधि ५ वर्ष मात्र रहँदै आएको थियो । त्यसैगरी दफा ९१ को उपदफा २ पनि संशोधन गरिएको छ । यसमा सवारीसाधन जाँचपासको प्रमाणपत्रको मान्य अवधिबारे उल्लेख छ । संशोधित व्यवस्थामा भनिएको छ, ‘(२) उपदफा १ बमोजिम दिइने जाँचपासको प्रमाणपत्रको मान्य अवधि (क) नयाँ सवारी दर्ता भएको मितिले ५ वर्षसम्मको लागि १ वर्षसम्म र (ख) खण्ड कबाहेकका सवारीको हकमा ६ महिनासम्म हुनेछ ।’
त्यसैगरी सवारी तथा यातायात व्यवस्था ऐन २०४९को दफा १६८ पछि दफा १६८ क र १६८ ख थपिएका छन् । यसअनुसार १६८ क मा सवारी जाँचपास तथा प्रद्रषणसम्बन्धी विशेष व्यवस्था गरिएको छ । यसमा यातायात विभागले प्रचलित कानुनबमोजिम स्थापना भई तोकिएको मापदण्ड पूरा गरेको निजी क्षेत्रको सवारी जाँचपास तथा प्रदूषणको परीक्षण गरी प्रमाणपत्र जारी गर्न अनुमति दिन सक्ने उल्लेख छ । त्यस्तै १६८ ख मा विद्युतीय अभिलेख प्रणालीमा प्रविष्टि गर्नुपर्ने भनिएको छ । यसअनुसार १ मा यस ऐन र प्रदेश कानुनअनुसार दर्ता हुने सवारीको विवरण, चालक अनुमतिपत्रको विवरण, सवारीचालक अनुमतिपत्र सम्बन्धित राजस्व कार्यालयमा भएका विवरणलगायतका अन्य वैयक्तिक तथा जैविक (बायोमेट्रिक)सहितको एकीकृत विवरण प्राप्त हुने गरी? विभागले सूचना प्रविधिमा आधारित यातायात सेवाको विद्युतीय अभिलेख प्रणाली निर्माण गर्ने उल्लेख छ । त्यसैगरी २ मा उपदफा १ अनुसार विद्युतीय अभिलेख प्रणालीमा विभागले तोकेको ढाँचामा त्यस्तो निकायले विवरण प्रविष्टि गर्नुपर्ने व्यवस्था गरिएको छ ।