काठमाडौं, संयुक्त राज्य अमेरिकाले आफूसँग व्यापार नाफा गरिरहेका देशहरुको भन्सार करको दर बढाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ व्यापार सम्झौताका लागि देशहरुलाई दिएको समय अगस्ट १ सकिएलगत्तै नयाँ दर लगाएका हुन् । यसअनुसार दक्षिण एसियाली राष्ट्रहरुमध्ये नेपाल, भुटान र माल्दिभ्सले अमेरिकामा निर्यात गर्ने वस्तुमा १० प्रतिशत मात्र भन्सार तिरे पुग्ने भएको छ । यो दर अमेरिकाले लगाएको भन्सार करको दरमध्ये सबैभन्दा न्यून हो । अमेरिकाले आफ्नो व्यापार सन्तुलन घाटामा रहेका देशहरुलाई उच्च दर तोकेको छ । अप्रिलमा पनि नेपालले सबैभन्दा कम अर्थात् १० प्रतिशत नै दर पाएको थियो ।
नेपाल र अमेरिकाबीचको व्यापारमा नेपाल घाटामा रहँदै आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१÷८२ मा नेपालले अमेरिकासँगको व्यापारमा सात अर्ब ६४ करोड ४९ लाख ५४ हजार रुपैयाँले व्यापार घाटा व्यहोरेको थियो । नेपालले सो वर्ष कुल २५ अर्ब ९६ करोड ५६ लाख ९८ हजार रुपैयाँको आयात गर्दा १८ अर्ब ३२ करोड सात लाख ४५ हजार रुपैयाँको मात्र वस्तु निर्यात गरेको थियो । अघिल्लो आवमा पनि नेपालले अमेरिकासँगको व्यापारमा दुई अर्ब १६ करोडको व्यापार घाटा व्यहोरेको थियो । नेपालसँगको व्यापारमा नाफा नै रहेकाले पनि अमेरिकाले नेपाललाई बढी दर नलगाएको हो । तर भारत, बंगलादेश, श्रीलंका, अफगानिस्तान र पाकिस्तानले भने बढी दरको सामना गरेका छन् । अगस्ट ७ देखि लागू हुने नयाँ दरअनुसार भारतले दक्षिण एसियामा सबैभन्दा बढी २५ प्रतिशत करको सामना गरेको छ । यसअघि अप्रिलमा अमेरिकाले २६ प्रतिशत दर लगाएकोमा एक प्रतिशत घटाएको हो । सन् २०२४ मा अमेरिकाको भारतसँगको व्यापार सन्तुलन ४६ अर्ब डलरले घाटामा थियो ।
त्यसैगरी, बंगलादेशले दोस्रो बढी अर्थात् २० प्रतिशत दरको सामना गरेको छ ।
यसअघि ३७ प्रतिशत दर सामना गरेको थियो । अमेरिका बंगलादेशसँगको व्यापारमा छ अर्ब डलरले घाटामा छ । यसबाहेक श्रीलंकाले पनि २० प्रतिशत नै दरको सामना गरेको छ । यसअघि अप्रिलमा ४४ प्रतिशत दरको सामना गरेको श्रीलंकासँग अमेरिकाको व्यापार तीन अर्ब डलरले घाटामा छ । यसबाहेक, पाकिस्तानले पनि १९ प्रतिशत दरको सामना गरेको छ । अप्रिलमा २९ प्रतिशत दर सामना गरेको पाकिस्तानसँग अमेरिकाको गत वर्षको व्यापार तीन अर्ब डलरले घाटामा थियो । त्यसैगरी, अफगानिस्तानले पनि १५ प्रतिशत दर सामना गरेको छ । अप्रिलमा १० प्रतिशत रहेको भन्सार दर पाँच प्रतिशतले बढेको हो । अफगानिस्तानसँग अमेरिकी व्यापार सन्तुलन एक करोड १० लाख अमेरिकी डलरले घाटामा रहेको थियो ।नयाँ करको दरअनुसार विश्वका देशहरुले थोरैमा १० प्रतिशत र बढीमा ४१ प्रतिशतसम्म करको सामना गरेका छन् । ट्रम्पले यससम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । ६९ देशहरुलाई उक्त दर लाग्नेछ । यसमा मेक्सिकोले ९० दिनसम्म नयाँ दर नलाग्ने सुविधा पाउँदा ब्राजिलले १० प्रतिशत कर र ४० प्रतिशत लेभीको सामना गरेको छ । अमेरिकाकै छिमेकी क्यानडाले समेत ३५ प्रतिशत दरको सामना गरेको छ । ईयुमा आबद्ध देशहरुले भने १५ प्रतिशत मात्र करको सामना गरेका छन् ।