काठमाडौं,कास्कीको पोखरा महानगरपालिका १६ स्थित बाटुलेचौरको जग्गाका वास्तविक धनी तथा पीडितसँग घुस लेनदेनमा मुछिएका मालपोत कार्यालय कास्कीका प्रमुख चिरञ्जीवी पौडेलमाथि कुनै विभागीय कारबाही हुन सकेको छैन । कास्की मालपोतमा हाजिर भएदेखि नै पीडितहरुको टिकटमा ओहोरदोहोर गरेको सार्वजनिक भए पनि उनीमाथि कुनै विभागीय कारबाही हुन नसकेको हो । उनीमाथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी र सचिव केदारनाथ शर्माले कुनै कारबाही गर्न सकेका छैनन् । यसको कारण हो—७० लाख घुस प्रकरण । हाल मालपोत कार्यालय कास्कीमा रहेका सुब्बा दिपक सुवेदी शक्तिशाली सुब्बा हुन् । उनलाई चार महिनाअघि सरुवा गरिए पनि पौडेलले रमाना नदिएर राखेका छन् । उनै सुवेदीले आफूले पौडेललाई कास्की मालपोतको हाकिम बनाएर ल्याउँदा ७० लाख रुपैयाँ घुस खुवाएको बताएको अडियो आर्थिक दैनिकले सार्वजनिक गरिसकेको छ । सोही अडियोमा उल्लेखित ७० लाख रुपैयाँ मन्त्री र सचिवहरुले भागबण्डा गरेको विश्वस्त स्रोतको दाबी छ ।
पौडेलबारे प्रमाण सार्वजनिक भए पनि कुनै कारबाही हुन नसक्नुको कारण नै ७० लाख रुपैयाँ रहेको मन्त्रालयकै एक अधिकारी बताउँछन् । अडियोमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अधिकारीलाई यो पैसा दिइएको भन्ने आवाज कतै पनि छैन ।अडियोमा यस्तो दाबी नै नगरिए पनि मन्त्री अधिकारीले पत्रकार सम्मेलनका क्रममा कर्मचारीलाई ‘रक्सी खुवाएर बोल कि बोल’ भन्दै जबरजस्ती गरिएको आरोप लगाएका थिए । उनले उक्त अडियोमा दाबी गरिएको ७० लाख रुपैयाँ आफैँले बुझेजसरी स्वीकारोक्ति भावमा यो वक्तव्य जारी गरेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । स्रोतका अनुसार भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको कुनै आधिकारिक पदमा नरहे पनि उनका भाइ शालिकराम अधिकारी मन्त्रालयमा ठूलै हर्ताकर्ता हुन् । मन्त्री अधिकारीको अधिकांश घुस डिल उनै शालिकराम र छोरा मनोजमार्फत भएको छ । मनोजलाई चिरञ्जीवीले बुझाएको ७० लाख रुपैयाँ बिचौलिया भनेर चिनिने प्रमोद खड्काले सेटिङ गरेको मन्त्रालयका एक अधिकारीले बताए । तीनै तहको अदालतको फैसला कार्यान्वयनका लागि पीडितले दिएको उजुरी तथा निवेदनमा समेत घुस बार्गेनिङ गर्ने हालका मालपोत अधिकृत पौडेल अहिले अख्तियारको छानबिनमा तानिएका छन् ।
उनको पनि टिकटसहितको प्रमाण सार्वजनिक भएपछि अख्तियारले बयानका लागि उनलाई पनि बोलाएको छ । मन्त्रीहरुले घुस लिएको अडियो रेकर्ड गर्ने व्यक्तिले नै काटिदिएको टिकटमा पहिलोपटक पोखरा हाजिर भएका पौडेलले हाल बाटुलेचौरको एक सय ३५ रोपनी जग्गामध्ये किर्ते गरेर ८० रोपनी जग्गा हत्याउने इन्द्र गौचनको स्वार्थमा चलेको आरोप समेत उनीमाथि छ । गत असार ११ गते आर्थिक दैनिकले पहिलोपटक कास्कीको बाटुलेचौरस्थित दुर्गादेवी शाहहरुको हक कायम भएको जग्गाका लागि मन्त्रीहरुले घुस डिल गरेको अडियो रेकर्डसहितको समाचार सार्वजनिक गरेको थियो ।
७८ लाख रुपैयाँ घुस डिल गर्ने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए । ३२ लाख रुपैयाँ घुस बुझेका बलराम अधिकारीमाथि अहिले अख्तियारको छानबिन चलिरहेको छ । तर, उनले राजीनामा दिएका छैनन् । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीकी तत्कालीन अध्यक्ष रञ्जिता श्रेष्ठमाथि अख्तियारले बयान लिइसकेको छ । यही प्रकरण सार्वजनिक भएपछि श्रेष्ठलाई पार्टीले कारबाहीस्वरुप पदबाट हटाएको छ । यता वन कुखुरा, अरिंगाल, ग्रिनफिल्ड नामक रक्सीसहित पाँच लाख रुपैयाँ घुस लिने तत्कालीन भूमिसुधार सचिव अर्जुन कुमार पोखरेलमाथि पनि अख्तियारले बयान सुरु गरेको छ । उनीमाथि मुद्दा चलाउने प्रमाण समेत अख्तियारले फेला पारेको जनाएको छ ।
यो प्रकरणमा मुछिएका विवादित मन्त्री बलराम अधिकारी समेतलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने पक्षमा छन्, प्रधानमन्त्री केपी शर्मा ओली । तर, कांग्रेस सभापति देउवाले आफ्नी पत्नीलाई समेत पदबाट हटाउनुपर्ने भएपछि अहिले सहमति दिएका छैनन् । विवादित मालपोत अधिकृत पौडेललाई रहस्यमयीरुपमा संरक्षण गर्दै आएका भूमिसुधार मन्त्रालयका सचिव केदारनाथ शर्माले प्रमाण सहित उजुरी आए मन्त्रालयले कारबाही गर्ने बताए । तर, हाल कास्कीस्थित मालपोत कार्यालयमा कार्यरत पौडेलले सचिव आफ्नो छिमेकी जिल्लाको रहेको कतिपय अनियमिततामा समेत साझेदारी भएका कारण आफूलाई कुनै पनि कारबाही गर्न नसक्ने बताउँदै आएका छन् ।