एक जना पाको भलादमी नवजागरणयुक्त महानुभाव हुनुहुन्छ– श्याम बस्नेत । उमेरले ८० निकट पुग्दै गर्नुभएका हाई प्रोफाइल (व्यापार/राजनीति) घरानाबाट हुर्किनुभएको हो । ०७ सालयताका राजा र प्रधानमन्त्री सबैका बैठकसम्म उहाँको पहुँच हुन्थ्यो र सबैसँग उहाँले अर्थनीति (व्यापार) र राजनीति (सामयिक)बारे छलफल गर्नुभएको छ । ‘नानीदेखि लागेको बानी’ कसैले नमागे पनि आफैँ अग्रसर भएर सल्लाह दिन तम्सने । त्यसै कारण कहिलेकाहीँ आफैँ चिप्लिने खालका सल्लाह पनि उहाँका आउँछन् । जस्तो पछिल्लो समय उहाँले भन्नुभएको छ– ‘३१ भदौभित्र शेखर कोइराला प्रधानमन्त्री भएर राजसंस्था फर्काउँछन्’ । उहाँको मुखमा घिउभात होस्, कामना गर्दागर्दै पनि पंक्तिकारचाहिँ भदौभित्रै त्यस्तो भइहाल्ने देख्दैन । तर उहाँका यस्ता चिप्लेका कुरालाई महत्व दिन किन आवश्यक छैन भने ज्योतिषशास्त्रको खास सिद्धान्तबारे उहाँलाई जानकारी छैन । उहाँ राजनीतिशास्त्र र अर्थशास्त्रको उल्लेखनीय विद्वान् हो । यी दुई विषयका उहाँका अन्तरवार्ता प्रवचनहरू आजको हिसाबले मात्र होइन, भोलि आउने नयाँ पुस्ताका लागि पनि अमूल्य पाठ्यक्रम हुनेखालका हुन्छन् । विश्वविद्यालयका क्लासहरू, पीएचडीका थेसिसहरूमा अनुभवजन्य त्यस्ता साक्षात्कार पाठ्यक्रम पाउन सकिन्न । कुनै पनि मुलुकमा ८० उमेर निकट पुगेका यसखालका पाका विद्वान् व्यक्ति दुई/चार दर्जनभन्दा बढी भेटिँदैन । नेपालको हकमा त एक दर्जन पनि भेटिने/नभेटिने किटान भन्न सकिन्न ।
हालका सामाजिक सञ्जाल टीभी, युट्युबहरूका छिछिमिराझैँ उडान भर्दै गरेका नयाँ पुस्ताका सिकारु पत्रकारहरूका लागि उहाँ एमाले कमाराकमारीका लागि खड्ग ओली ‘बा’ भएजस्तै ‘बा’ हुनुभएको छ र प्रायजसो हरेक दिन कुनै न कुनै मिडियामा अन्तरवार्ता प्रवचन आइरहेका हुन्छन् । खास गरेर मुलुक प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र (एकमुष्ट भारततन्त्र)को कालखण्डमा श्री ५ महेन्द्रले खडा गरेका उद्योगधन्धाहरू कौडीको मूल्यमा विदेशी दलालहरूलाई बेचेर (डा.रामशरण महत, महेश आचार्य टाइपका दुई/चार सय कांग्रेसी धनी भए) जनताका बलिया पाखुरी बेरोजगार छोराछोरीलाई वैदेशिक कामदारमा धकेलेर कृषि प्रधान मुलुकका किसानका घरहरू खण्डहरमा परिणत हुँदै गएर (पाँच वर्षअघिको तथ्यांक गाउँबस्तीका आठ लाख घर) ६९ प्रतिशत उब्जाउ भूमि बाँझै भएर खाद्य सामग्रीलगायत ८० प्रतिशतभन्दा बढी सारा उपभोग्य वस्तु विदेशबाट आयात गर्नुपर्ने स्वाभिमान र सार्वभौमिकता आर्यघाटमा घिटीघिटी अवस्थामा पुगेको बारे श्याम बस्नेतजीबाट जुन जानकारी र विश्लेषण आउँछन्, ती तथ्यबाट प्रमाणित अकाट्य अक्षर नचिनेकाहरू पनि छर्लङ्ग हुनेखालका हुन्छन् । त्यसै कारण नै विश्वविद्यालयका क्लासहरू र पीएचडीका थेसिसहरूमा पाइँदैन भनेको हुँ ।
०७२मा जारी चालू संविधानका विषयमा प्रारम्भका दिनदेखि नै बस्नेतजीको एउटै अडान जहाँ पनि के देखिन्छ भने आज मुलुकले राजनीतिक आर्थिक जुन दिवालीया (सत्ता नै देश बेच्न र मानव तस्करीमा संलग्न) झेलिरहेको छ, यो अवस्थामा ल्याइपु¥याएको संसद्वादी माओवादी ‘१२ बुँदे दिल्ली सम्झौता’ले हो । ‘१२ बुँदे’ दिल्ली सम्झौता नेपाल र नेपालीका लागि नभएर नेपाललाई भुटान हुँदै सिक्किम पु¥याउने उद्देश्यले प्रायोजित थियो । यदि हिन्दुस्तानको सत्तामा अहिलेसम्म सोनिया गान्धी (एउटा पाइलटको चौडा छातीमा लट्ठिएर भारत आइपुगेकी इटालीकी आइटम गर्ल कालक्रममा प्रधानमन्त्रीकी श्रीमती प्रथम महिला हुन पुगिन्) भइरहेकी भए ‘महाकाली सन्धि’बाट लिपुलेक, लिम्पियाधुरा, कालापानी भारतको नक्साभित्र पुगेजस्तै पूरै नेपाल सिक्किम हुने डर थियो । भारतमा नरेन्द्र मोदी आउनु र चीनले भारत, रुस, अमेरिकालाई समेत चुनौती हुने विकासको छलाङ मारेका कारण अहिलेसम्म नेपालको अस्तित्व जोगिरहेको छ । या भनौँ पशुपतिनाथले जोगाइरहनुभएको छ ।
यसरी ‘१२ बुँदे दिल्ली सम्झौता’लाई धारेहात लगाएर श्राप दिँदै (८० उमेर पुगेका पाका आध्यात्मिक व्यक्तिले दिएको श्राप/आशीर्वाद लाग्छ भन्ने सनातन मान्यता छ) श्याम बस्नेतजीले यहाँसम्म ल्याउनुभएका साक्षात्कार अनुभव ठहरलाई कसैले पनि विमति राख्ने प्रश्नै छैन । यहाँनेरी मेरो बस्नेतजीसँग कति मात्र थप पाठ्यक्रम हो भने आजको यो परिणाम राजा ज्ञानेन्द्रको भाषामा नेपाल र नेपालीका लागि प्रार्थना (समवेदना) गर्ने समय सिक्काको एउटा पाटो हो । सिक्काको अर्को पाटा ‘१२ बुँदे’को पृष्ठमूमि परिणामको कारण पनि उहाँलाई राम्रै थाहा छ । परिणाममा सुधार ल्याउन कारण पत्ता लगाउन आवश्यक हुन्छ । तर कति कारणले हो उहाँ पृष्ठभूमिका बारे भने लुकाउनुहुन्छ त म भन्दिनँ, बिर्सने गर्नुभएको चाहिँ साँचो हो । तिनै उहाँ (प्रतीक उदाहरणमा मात्र नाम लिएको हुँ)हरूजस्ताले बिर्सने गर्नुभएका एक/दुई उल्लेखनीय पृष्ठभूमि यहाँ अभिलेख गर्न चाहन्छु । पृष्ठभूमिको एउटा पाठ्यक्रम चेतना जागरण नपुग्दा ०७ सालको परिवर्तन उता सुगौली सन्धिले गुमेको भूमि फिर्ता हुने एउटा अवसर गुमेको इतिहास गत आइतबारको यसै स्तम्भमा अभिलेख छ । ०८ सालदेखि ०२७ सालसम्म नेपालका १५ पहाडी जिल्लाका १८ ठाउँमा भारतीय सैनिक क्याम्प खडा भएर चीनतिर बन्दुक तेस्र्याउँदै परेड खेलेकाबाट नेपालको सार्वभौमिकता र स्वाभिमान पूर्णरूपमा भारतको बन्धक रहेको छर्लङ्ग भइहाल्छ । प्राडा सुरेन्द्र केसीजस्ता आदि इत्यादि नेपालको आधुनिक इतिहासका सर्वज्ञाता दाबेदारहरूको चेतनासम्म पुगोस् भन्ने ध्येयले यस्ता प्राय आलेखहरूमा देहोर्याउने पनि गरेको छु ।
त्यस कालखण्डमा कोशी बेचियो, गण्डकी बेचियो भनेर मातृका बीपीहरूलाई जुन राष्ट्रघातको पाठ्यक्रम बन्ने गरेको छ, त्यो पाठ्यक्रम निर्माता प्राडाहरूको रोजीरोटी (जागिर) मात्र थियो भन्ने नवजागरणयुक्त नयाँ पुस्ताबाट लुक्ने कुरा भएन । ०२७ सालसम्म माओत्सेतुङले श्री ५ महेन्द्रलाई भारतको ‘प्रान्त्रिक गभर्नर’ भनेका खगेन्द्रजंग गुरुङको पाठ्यक्रम अभिलेख छँदैछ । जब श्री ५ नै त्यो हालमा भएपछि श्री ५ को सरकारका प्रधानमन्त्रीले बेचेका पाठ्यक्रमको के अर्थ रहन्छ र ?विसं २०२८ सालमा श्री ५ महेन्द्रले माओत्सेतुङको सल्लाह मानेर ०१७ सालको कदम फिर्ता लिएर बीपीलाई सत्ता सुम्पने घोषित मिति आइपुग्न एक दिनअघि मात्र उनको स्वार्गारोहण भयो । राजा महेन्द्रको त्यो मृत्यु स्वाभाविक न भएर हत्या थियो भन्ने अब त एउटा मोटै पुस्तकलाई पुग्ने सामग्री छ्याप छ्याप्ती उपलब्ध छन् । श्री ५ महेन्द्रको हत्या ‘१२बुँदे’को बीजारोपण थियो भने अङ्कुरित रूप श्री ५ वीरेन्द्रको ‘शान्तिक्षेत्र’ र जननायक बीपीको ‘मेलमिलाप’ प्रस्तावमा देख्न सकिन्छ । भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले सैनिक गुप्तचर संस्था ‘रअ’का प्रमुख रामेश्वरनाथ काओ (पण्डित नेहरूका सैनिक सल्लाहकार)लाई लिखित आदेश गरेकी ‘सिक्किम विलयको लगत्तै पछि नेपालको तराई भेग भारतमा गाभ्नु’ भन्ने खुफिया सूचना सीआईएमार्फत राजा र बीपीलाई जानकारी भयो । त्यसै त्रासमा आएको ‘शान्तिक्षेत्र’ र ‘मेलमिलाप’ प्रस्ताव एक सिक्काको दुई पाटा थियो । ‘राजाको गर्धनमाथि मेरो गर्धन’ अर्थात् ‘राजा मर्नुभन्दा पहिले म मर्छु’को तात्पर्य बीपीको ‘आत्मवृतान्त’मा आएको ‘इन्दिारा गान्धीले लेण्डुप दोर्जे भएर आजीवन प्रधानमन्त्री बन्न प्रस्ताव गरेकी’ भन्ने बीपी कथन (सम्पादक वकिल गणेशराज शर्मा)ले छर्लङ्ग हुन्छ । प्रारब्धले बंगलादेश जन्माएको उन्मादले इन्दिरा गान्धीले इमरजेन्सी लगाउँदा (स्टालिन पथ) उठेको जयप्रकाश नारायणको सम्पूर्ण क्रान्ति (लोहिया विचारधारा)ले नेपालको तराईभाग भारतमा गाभिन (एक प्रदेश एक मधेश संघीयताको जग)बाट जोगियो ।
इन्दिरा गान्धीको अवसानपछि प्रथम महिला हुनपुगेकी सोनिया गान्धीले नेपाल आएर पशुपतिनाथमा प्रवेश नपाएकी रिसमा २०४६ सालको बहुदल आयो । राजसंस्था मास्ने रणनीतिमा माओवादी १० वर्षे हिंसात्मक रगतपच्छे दुर्भाग्य मच्चियो । त्यसमा कांग्रेसको राष्ट्रवादी धार गणेशमान, कृष्णप्रसाद, महेन्द्र नारायण, सिके आदि इत्यादि हामीहरूलाई किनारामा धकेलेर गिरिजाप्रसाद कोइरालाले प्रचण्डलाई ‘फलानो चौकी हान, फलानो मानिस मार’ भन्ने निर्देशन दिने गरेका स्वयम् प्रचण्डले नै ‘झाँक्रीअगाडि बोक्सी बकेको’ शैलीमा भण्डाफोर गरेका श्याम बस्नेतजीजस्ता आदि इत्यादिबाट लुकेको मान्न सकिन्न । ‘महाकाली सन्धि’ रोकेर राजसंस्था जोगाउन खोज्दा (माधव नेपालबाट भारतीय सैनिक ल्याएर सिध्याउन प्रस्ताव) मदन भण्डारीको हत्या भएर वीरेन्द्र वंश विनाशपछि संसद्वादी माओवादी ‘१२ बुँदे दिल्ली सम्झौता’को पृष्ठभूमिले अंकुरित रूपबाट बटवृक्षको स्वरूप फल दिने ठूलो रुख भयो । १५ जेठ ०६४को ‘गणतन्त्र घोषणा’ र ३ असोज ०७२को ‘वर्तमान संविधान जारी’ त्यसै बटवृक्षका फल हुन् । परिणाम अहिले ‘नेपाल र नेपालीका लागि प्रार्थना गर्नुपर्ने समय’ आइपुगेको हो ।
श्याम बस्नेतजीजस्ता महानुभावहरूले वर्तमान नेपाल बेचिने, नेपाली बेचिने सार्वभौमिकता स्वाभिमान संकटको जुन डरलाग्दो पाठ्यक्रम नयाँ पुस्तालाई आउने पुस्तालाई अभिलेख गराइरहनु भएको छ, त्यसमा जबसम्म माथि वर्णित पृष्ठमूमि सामिल गरिँदैन, त्यो पाठ्यक्रमले पूर्णता नपाउने हाललाई यति मात्र भन्न खोजेको हुँ । इतिहासको अल्पज्ञान पूर्ण अज्ञानताभन्दा खतरनाक हुन्छ ।
श्याम बस्नेतजीबाट कुरो प्रारम्भ गरेको श्याम बस्नेतजीमै आइपुगेर प्रस्तुत आलेखको शीर्षक प्रस्ट पार्छु । श्याम बस्नेतजी भन्दै हुनुहुन्छ ‘अबको प्रधानमन्त्री शेखर कोइराला ।’ त्यसो भए के अब ‘१२ बुँदे’ दिल्ली सम्झौताको एउटा गोलचक्कर पूरा हुन लागेको हो ? किनभने ‘१२ बुँदे’ दिल्ली सम्झौताका निर्णायक पात्रहरू अमरेशकुमार सिंह, प्रचण्ड र शेखर कोइराला नै (कृष्ण सिटौला त गिरिजाका कारिन्दा मात्र थिए) यिनै तीन जना यतिखेर प्रचण्ड निवासमा बैठक गरेर शेखर प्रधानमन्त्री बन्ने योजना बनेको समाचार मिडियामा भाइरल छ । ०७२को संविधानमा ‘धर्म निरपेक्षता’ घुसेदेखिको ‘कुलिङ पिरियड’ घुसेसम्मको एउटा अर्को ‘गोलचक्कर’को पाठ्यक्रम यसअघिकै स्तम्भमा आइसकेको हुनाले तिनका नामावली यहाँ दोहोर्याउन चाहिनँ । तपसिलका बाँकी कुरामा यथासमय आउने नै छु । अस्तु ।