काठमाडौ । नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको अवसरमा काठमाडौंमा संयुक्त कला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, सिल्क रोड सिटिज अलाइन्स तथा चाइना कल्चर सेन्टर नेपालको संयुक्त आयोजनामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा सुरु भएको कला प्रदर्शनीको पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला र नेपालका लागि चीनका राजदूत छन सोङले उद्घाटन गरेका हुन् । कार्यक्रममा पूर्वमन्त्री कोइरालाले यस प्रदर्शनीले राजनीतिकबाहेक दुई देशका जनताबीचको अन्तरहृदय जोड्ने बताइन् । यस प्रदर्शनीले कला र संस्कृतिलाई जोड्ने मात्र नभई दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ र आत्मीय बनाउन मद्दत गर्ने उनको भनाइ छ ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कला प्रदर्शनीले सांस्कृतिक तथा कूटनीति सम्बन्ध प्रगाढ बनाउन सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले कला केवल सौन्दर्य अभिव्यक्त गर्ने माध्यम मात्र नभई एकताबद्ध गर्ने एउटा पुुलका रूपमा भएको बताए । चीनका राजदूत सोङले नेपाल–चीनसम्बन्ध आपसी सम्मान, सहयोग र साझेदारीमा आधारित रहेको बताए । उनले दुई देशका कलाकारलाई एउटै मञ्चमा देख्न पाउँदा आफूलाई खुसी लागेको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
प्रदर्शनीमा कुलपति हार्तम्छालीसहित पूर्वकुलपतिहरु किरण मानन्धर, केके कर्माचार्य, उपकुलपति लालकाजी लामा, प्राज्ञपरिषद् सदस्य प्रदीप अधिकारी, सौरगङ्गा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय वान्तवा, अरुणा हिङ्माङलगायत कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको छ । यस्तै, चिनियाँ कलाकारका कलाकृति पनि समावेश छ । नेपाली कलाकारका ४४ र चिनियाँ कलाकारका ६० कलाकृति प्रदर्शनीमा राखिएका छन् । उक्त प्रदर्शनीमा १५ जना चिनियाँ कलाकार समेत सहभागी भएको प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले जानकारी दिए । सो क्रममा शनिबार चिनियाँ कलाकारले प्रत्यक्षरूपमा भएको कला कार्यशालामा आफ्नो प्रस्तुति दिएका छन् । प्रदर्शनी यही साउन ३१ गतेसम्म सञ्चालन हुनेछ ।