काठमाडौं,सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने दुई सय १६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।बझाङको साइपाल गाउँपालिका वडा नं. ४ र ५ मा निर्माण हुने उक्त आयोजनाको लागि शुक्रबार कुमारी बैंक लिमिटेडको नेतृत्वमा तथा एनएमबी बैंक लिमिटेडको सह–नेतृत्वमा माछापुच्छ्रे बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एसिया बैंक, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र आईसीएफसी फाइनान्ससहितको सहवित्तीय व्यवस्थापन औपचारिकरूपमा सम्पन्न भएको हो ।
काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच कुमारी बैंक र आयोजनाको प्रवद्र्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडबीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरिएको छ । सम्झौतामा कुमारी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनाल र प्रवद्र्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईँले हस्ताक्षर गरेका छन् । नेपालका प्रमुख वाणिज्य बैंकहरूमध्येको एक कुमारी बैंकले हाल ऊर्जा क्षेत्रको विकासमा केन्द्रित हुँदै विभिन्न ६५ भन्दा बढी जलविद्युत् तथा सौर्य ऊर्जा परियोजनाहरूमा लगानी गर्दै आएको छ । बैंकले हालसम्म ७० अर्ब रुपैयाँभन्दा बढीको लगानी गरी (प्रतिबद्धतासहित) दुई हजार मेगावाटभन्दा बढी क्षमताका परियोजनाहरूको वित्तीय व्यवस्थापनमा (सहवित्तीयकरणअन्तर्गत समेत) योगदान गरिसकेको छ । जसमध्ये केही सञ्चालनमा रहेको र अरु विभिन्न निर्माणाधीन चरणहरूमा रहेका छन् । यी परियोजनाहरूले राष्ट्रिय प्रसारण लाइनमा विद्युत् आपूर्ति बढाउन महत्वपूर्ण योगदान पु¥याइरहेका छन् ।
करिब ४१ अर्ब ६० करोड लागतमा निर्माण हुन लागेको आयोजनालाई ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको अनुपातमा अघि बढाइने यस आयोजनाको आवश्यक वित्तीय पूर्वतयारी र डियु डेलिगेन्स स्टडी समेत सम्पन्न भइसकेको छ । यो आयोजना अर्धजलाशययुक्त नदी प्रवाह प्रणालीमा आधारित छ, जसमा ४.५ घण्टाको पिकिङ क्षमता रहनेछ । आयोजनाको डिजाइन डिस्चार्ज ३४.१ घनमिटर प्रतिसेकेन्ड रहेको छ भने ग्रस हेड ७५८.९ मिटर र नेट हेड ७३५.६ मिटर रहेको छ । आयोजनाको बाँधभन्दा तल जैविक बहाब कायम राख्न वर्षभर १.४१ घनमिटर प्रतिसेकेन्ड पानी सेती नदीमा निरन्तर छोडिने व्यवस्था गरिएको छ । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) २०८० साल साउन १९ गते सम्पन्न भई २०८१ वैशाख ३१ गते विद्युत् उत्पादन अनुमति प्राप्त भइसकेको छ । आयोजना पाँच वर्षभित्र सम्पन्न गरी २०८८ सालको असार ३१ गते (१५ जुलाई २०३१)भित्र व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्यसहित अघि बढाइएको छ ।
आयोजनाबाट वार्षिक १,२२९.६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ । वर्षायाममा ८३४.४९ गिगावाट र सुख्खा याममा ३९५.११ गिगावाट उत्पादन हुनेछ, जसमा १६३.६३ गिगावाट पिक इर्नर्जी हुनेछ । सुखा याममा पिक इर्नर्जीको विद्युत् दर प्रतियुनिट १०.५५ रुपैयाँ र नन पिक इनर्जीको दर ८.४० रुपैयाँ रहनेछ । उत्पादित विद्युत् आयोजनास्थलमै निर्माण गरिने २२० केभीको स्विचयार्डबाट ३० किलोमिटर लामो २२० केभी डबल सर्किट प्रशारण लाइनमार्फत राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रस्तावित ४०० केभी बझाङ सबस्टेसनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ ।आयोजनाका लागि आवश्यक पहुँच सडकको कुल लम्बाइ २५ किलोमिटर हुनेछ ।
आयोजनाको प्रतिमेगावाट लागत करिब १९.२५ करोड हुनेछ र प्रथम वर्षमै अनुमानित सात अर्ब ६७ करोड आर्जन हुने अपेक्षा गरिएको छ । आयोजनाको ३० प्रतिशत स्वपुँजी प्रवद्र्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडले विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्तामार्फत संकलन गरिरहेको छ । यसका ठूला लगानीकर्ताहरूमा सिउरी ङादी पावर लिमिटेड, ङादी ग्रुप पावर लिमिटेड, सगरमाथा जलविद्युत् कम्पनी लिमिटेड, माईखोला हाइड्रोपावर लिमिटेड र यस होल्डिङ प्रालिलगायतका ठूला कम्पनीहरू तथा शैलेन्द्र गुरागाईं, डा. भोगेन्द्रकुमार गुरागाईं र दिनेश गुरुङ्गजस्ता अनुभवी लगानीकर्ताहरू रहेका छन् ।स्थानीय पूर्वाधार विस्तार, रोजगारी सिर्जना, ऊर्जा आत्मनिर्भरता र सुदूरपश्चिम प्रदेशको समग्र आर्थिक समृद्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षासहित माथिल्लो सेती जलविद्युत् आयोजना नेपालको जलविद्युत् विकासको इतिहासमा अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । आयोजना सम्पन्न भएपछि उज्यालो सुदूरपश्चिमको सपना साकार पार्न निर्णायक योगदान पुग्ने विश्वास गरिएको छ ।