काठमाडौं — नेपाली नागरिकको परिचय बनेको राहदानीको खरिद प्रक्रिया फेरि विवादमा तानिएको छ। सुरक्षण मुद्रण केन्द्रमार्फत देशमै राहदानी छाप्ने भनिए पनि अझै पूर्वाधार निर्माणमै अल्झिएपछि सरकारले अन्तर्राष्ट्रिय बोलपत्रमार्फत ६४ लाख विद्युतीय राहदानी खरिदको प्रक्रिया अघि बढाएको हो।
राहदानी विभागले दुई प्याकेजमा खरिद प्रक्रिया अघि बढाउँदै जर्मन कम्पनी म्युबाउर र भेरिडोजसँग सम्झौता गरेपछि अघिल्लो आपूर्तिकर्ता फ्रान्सेली कम्पनी आइडेमियाले पुनरावलोकन समितिमा उजुरी दिएको थियो। तर, समितिले विभागको निर्णयलाई सही ठहर गर्दै आइडेमियाको ८ करोड बराबरको धरौटी जफत गर्ने निर्णय सुनाएको छ।
सर्वोच्च अदालतले समेत आइडेमियाको निवेदन दर्ता अस्वीकार गरेपछि राहदानी खरिद प्रक्रिया अघि बढेको छ। तर, विभागसँग मौज्दात राहदानीको संख्या कम बन्दै जाँदा आगामी कात्तिकपछिदेखि अभाव हुने खतरा देखिएको छ।राहदानी पुस्तिकाको नयाँ खरिद मूल्य अघिल्लोभन्दा प्रतिप्रति करिब १.५२ डलरले सस्तो पर्ने विभागको दाबी छ। हालको मूल्य १०.१३ डलरबाट घटेर ८.६१ डलरमा झर्नेछ। विभागले यसबाट करिब १ अर्ब ३५ करोड रुपैयाँ बचत हुने जनाएको छ। सुरक्षा मुद्रण केन्द्र स्थापना गरिएको वर्षौं बितिसक्दा पनि राहदानी अझै विदेशमै छापिनु, खरिद प्रक्रिया बारम्बार विवादित हुनु र आन्तरिक पूर्वाधार अझै अधुरो रहनुले राहदानीको भविष्य अझै अनिश्चित देखिएको छ।