काठमाडौं,दक्षिण एसियाली युवा नेतृत्वको विकासलाई उद्देश्य बनाएर काठमाडौंमा आयोजना गरिएको ‘South Asian Academy for International Leadership (SAAIL – नेपाल २०२५)’ अन्तर्राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल जेसीजको आयोजनामा सम्पन्न सो चारदिने भव्य कार्यक्रम जुलाई ३१ देखि अगस्ट ३ सम्म काठमाडौंस्थित अलोफ्ट होटल, ठमेलमा सम्पन्न भएको हो। "Bridging Nations – Building Leadership" भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा नेपाल, भारत, श्रीलङ्का र बंगलादेशबाट आएका १०० भन्दा बढी युवाप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रह्यो।
सम्मेलनका दौरान सहभागीहरूले अन्तर्राष्ट्रिय कूटनीति, सार्वजनिक वक्तृत्व, उद्यमशीलता, नवप्रवर्तन र नीति निर्माणजस्ता विषयमा व्यवहारिक प्रशिक्षण लिए। दक्ष प्रशिक्षकहरूको मार्गदर्शनमा संचालन गरिएका विविध कार्यशालाहरूले युवालाई नेतृत्वको नयाँ दृष्टिकोणसहित व्यवहारिक सीपमा सक्षम बनाएको आयोजकले बताएका छन्।
कार्यक्रमका सहभागीहरूलाई पाटन दरबार स्क्वायर, भक्तपुर, स्वयम्भू, बौद्ध, लुम्बिनी र पोखरालगायतका सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको अवलोकन गराइएको थियो, जसले नेपालका विविध सांस्कृतिक र प्राकृतिक पक्षहरूबारे अन्तर्राष्ट्रिय सहभागीसँग प्रत्यक्ष परिचय गरायो। नेपाल र श्रीलङ्काबीच युवा उद्यमशीलता, स्टार्टअप र लगानीका सम्भावनाहरूमा अन्तरक्रिया गर्ने उद्देश्यले ‘Jaycees in Business’ कार्यक्रम पनि सञ्चालन गरियो, जसमा नेपालका लागि श्रीलङ्काका महामहिम राजदूत पूर्णबहादुर नेपाली प्रमुख अतिथिको रूपमा सहभागी हुनु भयो।
SAAIL – नेपाल २०२५ को उद्घाटन तथा समापन समारोह विशेष रुपमा सम्पन्न भएको थियो। JCI Asia-Pacific का कार्यकारिणी उपाध्यक्ष मार्क जोसेफ डेभिड, उपाध्यक्ष हिरोकी टोमोरी, साथै JCI श्रीलङ्काका अध्यक्ष जेसी सान्दुक वीरासिङ्हे, JCI बंगलादेश अध्यक्ष काजी फहाद र JCI इण्डिया JFC अंकुर झुनझुनवाला लगायतका अतिथिहरूको गरिमामय उपस्थितिले कार्यक्रमको महत्त्व अझ बढाएको थियो।
कार्यक्रमको नेतृत्व नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष रञ्जनी थापाले गर्नुभयो भने समग्र व्यवस्थापन र निर्देशनको जिम्मेवारी JCI नेपालका पूर्व अध्यक्ष तथा सिनेटर प्रज्ञा राज राजभण्डारीले सम्हाल्नुभएको थियो। अध्यक्ष थापाका अनुसार, “SAAIL केवल नेतृत्व विकासको कार्यक्रम होइन, यो साझा भविष्य निर्माणको दीर्घकालीन संकल्प हो, जुन सपना हामीले नेपालमै साकार पारेका छौं।”
SAAIL – नेपाल २०२५ को सफलताले नेपाललाई दक्षिण एसियाली युवा नेतृत्व प्रशिक्षणको केन्द्रको रूपमा उभ्याएको छ। यस सम्मेलनमार्फत नेपालले अन्तर्राष्ट्रिय स्तरमा पर्यटन, संस्कृति, उद्यमशीलता र नेतृत्व क्षमताको सशक्त प्रस्तुति दिएको छ। सन् २०२६ को संस्करण बंगलादेशमा आयोजना हुने तय भइसकेको छ, जसले यस अभियानलाई अझ अन्तर्राष्ट्रिय बनाउँदै लैजाने विश्वास आयोजकले व्यक्त गरेका छन्।
SAAIL अब केवल एक सम्मेलन नभएर युवा नेतृत्वको साझा यात्राको प्रतीक बन्न थालेको छ—जहाँ नेपाल नेतृत्वको केन्द्रमा छ।