काठमाडौं,सत्ताधारी शक्तिले हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर बिचौलिया दीपक भट्टको स्वार्थमा खरिदबिक्री गराउन खोज्दा चार अर्ब रुपैयाँ बढीको घोटाला भएको छ । झण्डै तीन वर्षअघि बेलायतको कमन वेल्थ डेभलपमेन्ट कर्पोरेसन (सीडीसी) ले हिमालयन बैंकमा रहेको हबिब बैंकको दुई करोड ८० लाख कित्ता सेयर प्रतिकित्ता दुई सय ८० रुपैयाँमा किन्ने प्रस्ताव गरेको थियो । तर सत्ताधारीसँगको मिलेमतोमा नेपाल राष्ट्र बैंकको तत्कालीन नेतृत्वले उक्त प्रस्तावलाई अघि बढाउन अनुमति दिएन । हबिब बैंकले हिमालयन बैंकमा रहेको आफ्नो सेयर बिक्री गर्न पायोनियर ल फर्मलाई कन्सल्ट्यान्ट नियुक्त गरेलगत्तै सीडीसी युकेले त्यतिबेला सेयर किन्न चासो देखाएको थियो ।
सीडीसी युकेको प्रस्तावमा उक्त सेयर खरिद बिक्री हुन दिएको भए सात अर्ब ८४ करोड रुपैयाँको कारोबार हुने थियो । यसबाट त्यहीअनुसारको राजस्व पनि प्राप्त हुने थियो । तर बिचौलिया भट्टकै प्रभावमा यो खरिदबिक्री तत्कालीन गर्भनर महाप्रसाद अधिकारीले रोकिदिएका थिए । त्यतिबेला यसबारे प्रस्ताव नै अघि बढ्न पाएन । केही समय अवरोध गरेपछि नाटकीयरुपमा हबिब बैंक र बिचौलिया भट्टको समेत सेयर रहेको हिमालयन रि–इन्स्योरेन्स कम्पनीबीच एक सय ३० रुपैयाँ प्रतिकित्ताको दरले सेयर खरिद बिक्री गर्ने सहमतिबारे राष्ट्र बैंकलाई औपचारिकरुपमा जानकारी गराइयो । तर त्यो सहमति सेयर खरिद बिक्रीका लागि थिएन । त्यो त केवल सीडीसी युकेको प्रस्ताव रद्द गरेर यसलाई अर्कोतर्फ मोड्नको लागि गरिएको प्रपञ्च थियो । अन्ततः हिमालयन रिले एक सय ३० रुपैयाँमा पनि हबिब बैंकको नाममा रहेको सेयर किनेन भने केही समय गुजारेर उक्त सम्झौता संशोधन गरेर राष्ट्र बैंकलाई जानकारी दिइयो ।
संशोधित प्रावधानअनुसार अहिले हिमालयन रिले हबिब बैंकको नामको सेयर प्रतिकित्ता एक सय १२ रुपैयाँ ८० पैसाका दरले खरिद बिक्री हुने भनिएको छ । प्रतिकित्ता एक सय ३० रुपैयाँको दरले बिक्री हुँदा तीन अर्ब ६४ करोड रुपैयाँको कारोबार हुन्थ्यो भने संशोधित प्रस्तावअनुसार प्रतिकित्ता एक सय १२ रुपैयाँ ८० पैसामा कारोबार हुँदा तीन अर्ब १५ करोड ८४ लाख रुपैयाँमा कारोबार हुने थियो । आफैँले पहिले गरेको एक सय ३० रुपैयाँको प्रतिकित्ताको प्रस्ताव संशोधन गरेर एक सय १२ रुपैयाँ ८० पैसामा प्रतिकित्ता सेयर कारोबार गर्दा ४८ करोड १६ लाख रुपैयाँ फरक हुन्छ र त्यही फरक रकम बाँडेर खाने उधारो सहमतिमा बिचौलिया भट्टले सत्ताधारीलाई नचाएका थिए ।
पछिल्लो सहमतिअनुसार सेयर खरिद बिक्रीको प्रक्रिया अघि बढाइएको छ । सोहीअनुसार निकालिएको सूचनामा सेयर खरिद गर्न प्रोमोटरहरुलाई आह्वान गरिएको समयावधिको अन्तिम दिन नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता एक सय १८ रुपैयाँ ८० पैसाको दरले खरिद गर्न इच्छुक रहेको प्रस्ताव पेस गरेपछि कुख्यात बिचौलिया भट्टसँगसँगै पौडेल बन्धुहरुको बीचको रकम भागबन्डा गरेर खाने योजना चौपट भएको छ । नेसनल लाइफले हिमालयन बैंकमा रहेको हबिब बैंकको उक्त सेयर तीन अर्ब ३२ करोड ६४ लाख रुपैयाँमा किन्न लागेको हो । उक्त रकम बिचौलिया भट्टले हिमालयन रिको नाउँमा एक सय १२ रुपैयाँ ८० पैसाको दरले किन्न लागेको रकम तीन अर्ब १५ करोड ८४ लाख रुपैयाँभन्दा १६ करोड ८० लाख रुपैयाँले बढी हो ।
यो हिसाबले बिचौलिया भट्टले प्रतिकित्ता एक सय ३० रुपैयाँ आफैँले प्रस्ताव गरेर अरू कोही आउनै नदिने गरी आफैँले मूल्य संशोधन गरेर एक सय १२ रुपैयाँ ८० पैसा तोकेर ४८ करोड रुपैयाँभन्दा बढी रकम हाकाहाकी खान खोजेको योजनाको तुलनामा यो राम्रो हो । नेपाल राष्ट्र बैंकको संस्थापक गर्भनर हिमालय शमशेर जबराले स्थापना गरेको हिमालयन बैंकका एउटा बदनाम पात्र दीपक भट्टको गिरोहलाई प्रवेश गर्न नदिएको अर्थमा नेसनल लाइफको प्रस्ताव अत्यन्त सकारात्मक पनि हो । तर बेलायतको सीडीसीको प्रतिकित्ता दुई सय ८० रुपैयाँमा किन्ने प्रस्तावको तुलनामा भने केही होइन । नेसनल लाइफले किन्न लागेको प्रस्तावलाई अल्झाउन स्वयं अर्थमन्त्री विष्णु पौडेल लागेका छन् । तर गर्भनर डा. बिश्वनाथ पौडेललाई उनको प्रस्ताव स्वीकार्न अप्ठेरो परिरहेको स्रोतको दाबी छ । अहिले एक सय १८ रुपैयाँ ८० पैसामा किन्न प्रस्ताव गर्ने नेसनल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक पनि शक्तिकेन्द्रको पहुँचवाला मानिन्छन् र शक्तिकै आडमा आफू अनकूल परिणाम निकाल्न माहिर मानिन्छन् ।
गत बिहीबार बसेको भनिएको हबिब बैंक पाकिस्तानको बोर्ड बैठकले नेसनल लाइफ इन्स्योरेन्स कम्पनीसँगको सेयर खरिद बिक्रीको प्रस्तावलाई अनुमोदन गरेको स्रोतको दाबी छ । त्यसपछि प्रक्रिया अघि बढ्दा सेयर खरिद बिक्रीमा कमिसनको भागबण्डाको हिसाब गरेर बसेको सत्ताधारी गिरोह र हिमालयन बैंक कब्जा गरेर बस्न चाहने दुवै पक्षलाई गम्भीर धक्का पुगेको देखिएको छ । बिचौलिया भट्टले दुई भारतीय नागरिकलाई नागरिकता दिलाएर अघोषित साझेदार बनाएर सत्ताधारीहरुलाई प्रलोभनको पासोमा पारेर आफ्नो काम फत्तै गर्दै आएका छन् भने नेसनल लाइफवालाहरु विघटित दरबारसँग निकटस्थ मानिन्छन् ।
पाकिस्तानको हबिब बैंक नेपालमा लगानी गरेर नाफा कमाउँला भनेर आएको होइन । लगानी गर्न पनि कसैले प्रश्न उठाउन नसक्ने सर्वस्वीकार्य व्यक्तित्व प्रथम गर्भनर हिमायल शमशेर जबरासँग टाँसिएर नेपाल पसेको थियो । त्यतिबेला नेपालमा वित्तीय अनुशासनहीनता व्यापक थियो । हबिब बैंकले त्यसको सदुपयोग पनि ग¥यो ।
तर अब उसले नेपालमा आफ्नो उपस्थितिको आवश्यकता देखेन र आफू अनकूल पात्रलाई आफ्नो सेयर बिक्री गरेर उसैमार्फत आफ्नो मक्सद पूरा गर्ने लक्ष्य बनाएर अत्यन्त विवादास्पद पात्र दीपक भट्टसँग हात मिलाउन पुगेको हो । बिचौलिया भट्टको अनुकूल कम्पनी हिमालय रि–इन्स्योरेन्स कम्पनीलाई सेयर बेच्न तयार भएको हो । त्यही कारण उनीहरुको योजनामा बाधा पु¥याउन खोजेकाले सीडीसी बेलायतको प्रतिकित्ता दुई सय ८० रुपैयाँमा किन्ने प्रस्ताव हुँदाहुँदै पनि त्यसलाई अस्वीकार गरेर हिमालयन रि–इन्स्योरेन्स कम्पनीसँग एक सय ३० रुपैयाँमा किनबेच गर्न सहमति भएको हो । त्यसपछि अब कसैले आँट गर्दैन भन्ने निष्कर्ष निकालेर आफ्नै प्रस्ताव संशोधन गरेर एक सय १२ रुपैयाँ ८० पैसामा किनबेच गर्नै सहमति गरेर हाकाहाकी लुट्ने प्रपञ्च गरिएको थियो । सीडीसी बेलायतको प्रस्तावमा सात अर्ब ८४ करोड रुपैयाँमा किनेबच भएको भए पनि लेनदेन गर्ने पक्ष उनीहरु नै हुन् । पैसा पाकिस्तानको हबिब बैंकले पाउने हो । नेपालले पाउनेचाहिँ पुँजीगत लाभकर अर्थात् क्यापिटल गेन ट्याक्स मात्र हो । सीडीसीसँग किनबेच भएको भए नेपालले पुँजीगत लाभकर बढी पाउँथ्यो । अहिले कम दरमा बिक्री हुँदा कम मात्र पुँजीगत लाभकर पाउँछ । तर यस सम्बन्धमा कति पुँजीगत लाभकर पाउँछभन्दा पनि पाकिस्तानको इन्ट्रेस्ट के हो, उसको अनकूल पात्र को–को रहेछन् भन्ने महत्वपूर्ण रहेको छ । यसबाट कुख्यात बिचौलिया भट्ट र उसबाट पोषित नेतृत्वको मुखौटो उदाङ्गो भएको छ ।
बेलायतको सीडीसी कम्पनीसँग दुई सय ७० रुपैयाँ प्रतिकित्तामा किनबेच भएको थियो भने एक सय ८० रुपैयाँको दरमा हुने थियो र २५ करोड २० लाख रुपैयाँ करबापत नेपाललाई प्राप्त हुने थियो । अब एक सय १८ रुपैयाँ ८० पैसामा बिक्री हुँदा १८ रुपैयाँ ८० पैसाको पाँच प्र्रतिशत लाभकर भनेको ९४ पैसा हुन्छ र त्यस हिसाबले नेपालले दुई करोड ६३ लाख २० हजार रुपैयाँ मात्र राजस्व पाउने छ । हबिब बैंकको सेयर बिक्री प्रकरणले बिचौलिया भट्टसँगको मौखिक साझेदार बनेर बसेका ती दुई भारतीय को हुन् ? उनीहरु कसका लागि काम गर्छन् ? भट्टसँगको उठबस रहेको शेखर कोइरालादेखि बामदेव गौतम, जनार्दन शर्मा, विष्णु पौडेललगायतका राजनीतिक व्यक्तिहरुको सम्बन्ध के हो भन्ने पनि केलाउनु पर्ने विषय बन्न पुगेको छ । यसबाहेक एउटा विवादास्पद बिचौलिया दीपक भट्टलाई पोस्न खोज्दा सरकारले २२ करोड ५६ लाख ८० हजार रुपैयाँ पुँजीगत लाभकर गुमाउनु परेको छ ।