काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ मा साढे तीन खर्ब बढी आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले चालू आर्थिक वर्ष २०८२/८३ को प्रथम, द्वितीय, तृतीय र चौमासिक अवधिमा तीन खर्ब ६२ अर्ब आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको हो ।
कार्यालयका अनुसार पहिलो त्रैमासमा एक खर्ब १३ अर्ब, दोस्रोमा ८५ अर्ब, तेस्रोमा एक खर्ब नौ अर्ब र चौथो त्रैमासमा ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य छ । तालिकाअनुसार, प्रथम चौमासिक अवधिमा विभिन्न अवधि र फरक–फरक मितिमा विकास ऋणपत्र, वैदेशिक रोजगार बचतपत्र, नागरिक बचतपत्र, ट्रजरी बिलको बोलकबोल गर्ने र निष्काशन मिति समेत तोकिएको छ ।
कार्यालयले १० अर्बका विभिन्न विकास ऋणपत्रहरु विभिन्न मितिमा बोलकबोल र निष्काशन हुने गरी तालिका ल्याएको छ । जसमा १० अर्ब विकास ऋणपत्रको बोलकबोल चालू आवको साउन ७ मा भएको छ । तीन वर्षे भुक्तानी अवधिका लागि उक्त विकास ऋणपत्रको निष्काशन भने साउन ८ गते भएको छ । त्यस्तै, १० अर्बकै चार वर्षे भुक्तानी अवधिसहितको विकास ऋणपत्र साउन १४ गते बोलकबोल र साउन १५ गते ऋणपत्र निष्काशन भएको छ ।
त्यस्तै, सोही रकमको ११ वर्षे भुक्तानी अवधिसहितको विकास ऋणपत्र साउन २१ गते बोलकबोल हुने र साउन २२ गते ऋणपत्र निष्काशन हुनेछ । त्यस्तै, आठ वर्षे भुक्तानी अवधिको विकास ऋणपत्रको बोलकबोल साउन २८ गते हुनेछ भने ऋणपत्र निष्काशन साउन २९ गते गर्ने गरी तालिका सार्वजनिक भएको छ । त्यस्तै, १० वर्षे भुक्तानी अवधिका लागि २०८२ भदौ ४ गते बोलकबोल र भदौ ५ गते ऋणपत्र निष्काशन गरिँदैछ । त्यस्तै, फेरि १० अर्बको रकमको तीन वर्षे भुक्तानी अवधिका लागि भदौ ११ गते बोलकबोल गर्ने र भदौ १२ गने ऋणपत्र निष्काशन गर्ने मिति तय भएको छ ।
१० अर्बको विकास ऋणपत्रका लागि नौ वर्षे भुक्तानी अवधिको बोलकबोल भदौ १८ मा र ऋणपत्र निष्काशन भदौ १९ मा हुनेछ । त्यस्तै, सोही रकमको छ वर्षे भुक्तानी अवधिसहित विकास ऋणपत्रको बोलकबोल भदौ २५ र ऋणपत्र निष्काशन भदौ २६ मा हुनेछ ।
त्यस्तै, ११ वर्षे भुक्तानी अवधिको विकास ऋणपत्रको बोलकबोल असोज १ गते र असोज २ गते ऋणपत्र निष्काशन गर्ने कार्यतालिका छ । सात वर्षे भुक्तानी अवधिको विकास ऋणपत्रको बोलकबोल असोज २२ र ऋणपत्र निष्काशन असोज २३ मा हुनेछ भने पाँच वर्षे भुक्तानी अवधिको विकास ऋणपत्रको बोलकबोल असोज २९ र ऋणपत्र असोज ३० मा निष्काशन हुने गरी तालिका सार्वजनिक भएको कार्यालयले जनाएको छ ।
यसरी उठाउने सार्वजनिक ऋणको ब्याजदर बोलकबोल विधिबाट निर्धारण हुनेछ । ट्रेजरी बिल, वैदेशिक रोजगार बचतपत्र, नागरिक बचतपत्र, नागरिक ऋणपत्र र विकास ऋणपत्रमार्फत आन्तरिक ऋण उठाउने सरकारको तयारी छ । यसले नागरिक र लगानीकर्तालाई आफ्नो लगानी योजन बनाउन सहयोग पुग्ने कार्यालयले जनाएको छ । विकास ऋणपत्र तीनदेखि बढीमा ११ वर्षे हुनेछन् । नागरिक बचतपत्र पाँच वर्षे हुनेछ भने वैदेशिक रोजगार बचतपत्र पाँच वर्षको हुनेछन् भने ट्रेजरी बिल २८ दिन, १८२ दिन, ३६३ दिन ९१ दिनको लागि हुने जनाइएको छ ।