धनगढी । बाजुराको मार्तडी–कोल्टी सडक अलपत्र पारेका ठेकेदार प्रदेश सांसद इन्द्र बहादुर बानियाँ बाग्मती प्रदेशको मुख्यमन्त्री बन्ने पक्कापक्की भएको छ ।
बागमतीमा यही साउन १४ गते लामालाई कांग्रेस संसदीय दलको नेता चयन गरिएको थियो । त्यतिबेला बानियाँको पक्षमा २२ सांसदले मतदान गरेका थिए । निवर्तमान मुख्यमन्त्री लामाको पक्षमा १५ सांसद खुलेका थिए भने एउटा मत बदर भएको थियो । बागमतीमा कांग्रेसका ३७ सांसद छन् ।
संविधानतः मुख्यमन्त्री बन्नका लागि दलको नेता हुनुपर्ने प्रावधान नरहेको दाबी गर्दै लामाले दलको नेता पराजित भए पनि मुख्यमन्त्रीबाट राजीनामा नदिने अडान लिएका थिए । तर त्यसबाट उनी पछि हटे । इमानदारिताको लडाइँमा पराजित भएको भन्दै उनले आइतबार राजीनामा दिएका छन् । योसँगै बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री बन्दै छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले दल नेता बानियाँ बनिसकेको अवस्थामा मुख्यमन्त्रीबाट मार्गप्रशस्त गर्नु उपयुक्त हुने सुझाव दिएका थिए । उनी बागमती प्रदेशसभाका सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा मकवानपुरवासी हुन् । मार्तडी–कोल्टी सडकको काम गर्ने जिम्मा पाएको पीएस बानियाँ निर्माण सेवा उनै बानियाँको कम्पनी हो ।
यो कम्पनीले मार्तडी–कोल्टी सडक विस्तारको जिम्मा पाएको थियो । तर चरम लापरबाही गरेपछि उक्त सडक अलपत्र अवस्थामा छ । सम्बन्धित निकायले पनि त्यसको निरीक्षण र नियमन गर्न सकेको छैन । नागरिकको आधारभूत आवश्यकतासँग जोडिएको यातायात सेवासँग सम्बन्धित काममा राज्यका निकायबाटै बेवास्ता भएको स्थानीयको दुखेसो छ ।
काम गर्ने जिम्मा पाएको पीएस बाँनिया निर्माण सेवाले करिव डेढ करोडको मात्र काम गरेको पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ । ठेकेदारले काम नगरेपछि झण्डै १३ करोड ५० लाख फिर्ता हुने भएको छ ।
आर्थिक वर्ष ०७६।७७ मा (२०७७ असार) २६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी बानियाँको निर्माण कम्पनीले ५० करोड १७ लाखमा ठेक्का पाएर असारमा सम्झौता गरेको थियो । तीन वर्षमा काम सम्पन्न गर्ने सम्झौता भएकामा काम नसकेपछि कार्यालयले फेरि एकपटक म्याद थप गरेको थियो । म्याद थप गरे पनि यो आर्थिक वर्ष भने पैसा भए पनि ठेकेदारले काम नगरेर रकम फिर्ता हुन लागेको पूर्वाधार कार्यालय अछामले जनाएको छ ।
कार्यालयले २६ किलोमिटर कालोपत्रेका लागि ९८ करोडको टेन्डर गरेको थियो । पीएस बानियाँ निर्माण सेवाले ५० करोड १७ लाखमा ठेक्का पाएर २०७७ असारमा सम्झौता गरेको थियो । उक्त सडकमा ५० प्रतिशत मात्र काम भएको कार्यालयले जनाएको छ । ठेकेदारले समयमै काम नगर्दा वर्षात्मा मार्तडी–कोल्टी सडक बन्द हुने गरेको स्थानीय बताउँछन् ।
मार्तडी–कोल्टी सडक खण्ड जम्मा ४१ किलोमिटर रहेको छ । यो सडक प्रदेश सरकारको बहुवर्षीय योजनामा रहेको छ । यो सडकको २६ किलोमिटरबाहेक मार्तडीदेखि ढम्कनेसम्म १५ किलोमिटर रहेको छ । १५ किलोमिटर कालोपत्रेका लागि ५८ करोड बिनियोजन भएको थियो । पहिलो मार्तडीदेखि चुथीसम्म नौ किलोमिटरको धेरै काम भइसकेको छ । चुथीदेखि ढम्कने छ किलोमिटर कालोपत्रेको काम धेरै बाँकी रहेको छ । समपूरक अनुदानको बजेटबाट यो सडकको रकम ५० प्रतिशत संघ र ५० प्रतिशत प्रदेश सरकारको रहेको छ ।
उनीहरुले हरेक वर्षात्मा यातायातबाट बञ्चित हुनुपर्ने अवस्था छ भने पैदल यात्रा समेत कष्टपूर्ण हुने गरेको छ । हरेक वर्ष वर्षात्मा चार महिना पूर्णरुपमा सडकखण्ड अवरुद्ध हुँदँ आए पनि यस समस्याको दिगो समाधानका लागि सम्बन्धित निकाय र नेतृत्व बेखबर बनेको स्थानीयहरुको आरोप छ ।
मुख्यमन्त्री लामाकोे राजीनामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन् । हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन् ।
पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गरे पनि मुख्यमन्त्री लामाले प्रदेश प्रमुखलाई भने राजीनामापत्र बुझाएका छैनन् । पत्र बुझाउन आइतबार साँझ हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेका मुख्यमन्त्री लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई नभेटेपछि त्यसै फर्किएका थिए । सोमबार प्रदेश प्रमुख हेटौँडा आएपछि राजीनामा बुझाउने मुख्यमन्त्री लामाले जानकारी दिए । यही साउन १४ गते भएको पार्टी संसदीय दलको नेतामा पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिएका हुन् ।