काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका–६ खहरे बस्ने संखुवासभा चिचिला गाउँपालिका–१ घर भएकी ५१ वर्षीया दुर्गादेवी गुरूङ र काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने पर्सा वीरगंज महानगरपालिका–१५ घर भएका ६० वर्षीय महमद जौवाद अंसारी रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उच्च अदालत पाटनको २०७९ फागुन २३ गतेको फैसलाले उक्त मुद्दामा तीन लाख रूपैयाँ जरिवाना, एक दिन कैद र क्षतिपूर्तिबापत शुल्क १२ हजार रुपैयाँ पीडित राहत कोषमा बुझाउनुपर्ने सजाय ठहर भई फरार रहेकी दुर्गालाई काठमाडौं खहरेबाट बुधबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा फरार रहेका महमदलाई काठमाडौं कुलेश्वरबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ ।