काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । लघुवित्तले आज सार्वजनिक गरेको विवरणअनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढाएको हो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ११ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई सय आठ दशमलव ४४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले तीन करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४१ दशमलव ३० प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १६ दशमलव १५ प्रतिशत घटेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २९ दशमलव ४८ प्रतिशत र सञ्चालन मुनाफा दुई सय ५० दशमलव ५३ प्रतिशत बढेको छ । समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा दुई करोड ९७ लाख रुपैयाँबाट बढेर नौ करोड १० लाख रुपैयाँ पुगेको छ ।
नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २९ रुपैयाँ ८० पैसा बढेर ४४ रुपैयाँ ९ पैसा पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य प्रतिसेयर आम्दानी ३४ रुपैयाँ १७ पैसा, प्रतिसेयर नेटवर्थ दुई सय ७७ रुपैयाँ १७ पैसा र मूल्य आम्दानी अनुपात ४० दशमलव २८ गुणा रहेको छ । प्रतिसेयर कुल सम्पत्तिको मूल्य दुई सय ७६ रुपैया ८४ पैसा रहेको छ ।
२६ करोड ६४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४७ करोड २० लाख रुपैयाँ सञ्चित छ । पछिल्लो एक वर्षमा लघुवित्तको निक्षेप तथा सापटी १० दशमलव ४९ प्रतिशत र कर्जा चार दशमलव ९६ प्रतिशत बढेको छ । यसले गर्दा लघुवित्तको वित्तिय सचांकहरू समग्र अवस्था सन्तोषजनक रहेको छ ।