काठमाडौ । श्रीलङ्कास्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल चेम्बर अफ कमर्स र श्रीलङ््कन चेम्बर अफ स्मल एन्ड मिडियम इन्टरप्राइजेजबीच साना तथा मझौला उद्यम प्रवद्र्धन, व्यापार तथा लगानी अभिवृद्धिका लागि रणनीतिक साझेदारी हुने भएको छ ।
श्रीलङ्काका लागि नेपाली राजदूत डा. पूर्ण बहादुर नेपालीको उपस्थितिमा चेम्बरका अध्यक्ष कमलेस कुमार अग्रवाल र श्रीलङ्का चेम्बरका अध्यक्ष रोहन डि शिल्भाले सम्झौतामा हस्ताक्षर गरेका हुन् । दुई संस्थाबीच साना तथा मझौला उद्यम प्रवर्द्धन, दुईदेशीय व्यापार एवं लगानीको अवसर तथा नेपाल र श्रीलङ्काको निजी क्षेत्रबीच व्यापार सहजीकरण गर्ने विषयमा सम्झौता भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । साना तथा मझौला उद्यममा एक अर्काको देशमा भएका अभ्यास, नीतिगत व्यवस्था, क्षमता अभिवृद्धि कार्यक्रम, प्रशिक्षण, कार्यशाला गोष्ठीजस्ता विषयमा सहकार्य गर्ने सहमति भएको हो ।
यस्तै, दुवै देशका चेम्बर प्रतिनिधिहरुबीच दुई पक्षीय भेटवार्ता, साना तथा मझौला उद्यममा दुई पक्षीय लगानीजस्ता विषयमा पनि सहकार्य हुने जनाइएको छ । साना तथा मझौला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको एक अर्काका देशमा प्रदर्शनी एवं व्यापार अभिवृद्धि गर्नका लागि नेपाल चेम्बर र श्रीलङ्कन चेम्बरका तर्फबाट समन्वय गरिने विषय सम्झौतामा उल्लेख छ । दुई पक्षीय व्यापार सहजीकरण, प्रविधि हस्तान्तरण, साना तथा मझौला उद्योगको सम्भावना सम्बन्धमा संयुक्त खोज तथा अनुसन्धान गरिने चेम्बरले जनाएको छ । खास गरी नेपाल र श्रीलङ्कामा साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्नका लागि दुई देशका चेम्बरबीच रणनीतिक साझेदारीको सम्झौता भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।