काठमाडौँ, बोलबम यात्रा अन्तर्गत सुन्दरीमाई मन्दिर गएकी एक महिला श्रद्धालुको ढुंगामा चिप्लिएर खोलामा डुब्दा मृत्यु भएको छ। मृत्यु हुनेमा चितवन स्थायी घर भई हाल काठमाडौंको कपनमा बस्दै आएकी ३५ वर्षीया सन्ध्या धामी रहेको प्रहरीले बताएको छ ।प्रहरीका अनुसार उनी आइतबार राति करिब १स्३५ बजे गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीमाई मन्दिरतर्फ बोलबम यात्रा गर्दै थिइन्। सो क्रममा ढुंगामा चिप्लिएर खोलामा डुबेको बताइएको छ। घटनापछि प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएको प्रहरी टोली र नेपाली सेनाको सुन्दरीजलस्थित विपद् व्यवस्थापन टोलीले तत्काल उद्धार गरे पनि उनलाई बचाउन सकिएन। उपचारका लागि तत्काल नेपाल मेडिकल कलेज, अत्तरखेल लगिएको भए पनि उपचारका क्रममा राति १:४८ बजे निधन भएको बताइएको छ। श्रावण महिनामा बोलबम यात्रा गर्ने भक्तजनहरूको चाप बढ्दै गएको अवस्थामा भएको यस दुर्घटनाले सुरक्षामा अझ सतर्कता आवश्यक देखिएको छ।