काठमाडौं, बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले औपचारिक दाबी पेस गरेका छन्। पूर्वमुख्यमन्त्री बहादुर सिं लामा तामाङले आइतबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८(२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका थिए। उक्त आह्वानपछि कांग्रेस सांसद बानियाँले सोमबार दिउँसो प्रदेश प्रमुखसमक्ष दुई वा दुईभन्दा बढी दलको समर्थनसहित मुख्यमन्त्री बन्ने दाबी पेस गरेका हुन्। अब प्रदेश प्रमुखको निर्णयपछि बानियाँ मुख्यमन्त्रीमा नियुक्त हुने सम्भावना बलियो देखिएको छ। सत्तारूढ गठबन्धनमा सहमति जुटेसँगै बानियाँले नेतृत्व गर्ने तयारी भएको हो। कांग्रेसले अन्य दलहरूको समर्थन जुटाएर नयाँ सरकार गठनको प्रयास गरिरहेको छ। अबको केही दिनभित्र बागमती प्रदेशमा नयाँ सरकार गठन हुने अपेक्षा गरिएको छ।