काठमाडौं, क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको अभियोगमा प्रहरीले एक युवकलाई राजधानीको कलंकीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा स्थायी घर भई हाल भक्तपुरको कौशलटारमा बस्दै आएका २१ वर्षीय सुशान्त दाहाल रहेका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दाहाललाई शनिबार कलंकीबाट पक्राउ गरिएको हो। क्रिप्टो कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा दाहालले युएसडिटी (USDT), बिटकोइन (BTC), इथेरियम (ETH) र बाइनेन्स कोइन (BNB) लगायतका क्रिप्टोकरेन्सीमा संलग्न भई कारोबार गरिरहेको पाइएको छ। नेपाली रुपैयाँमा झन्डै ७८ लाख ३० हजार ३८८ रुपैयाँभन्दा बढीको कारोबार गरेको खुलेको एसपी कुलदिप चन्दले जानकारी दिए।
दाहालको साथबाट प्रहरीले एउटा मोबाइल र दुई वटा सिमकार्ड पनि बरामद गरेको छ। उनलाई नेपालको कानूनअनुसार अभौतिक मुद्रा कारोबार निषेध सम्बन्धी कसुरमा अनुसन्धान गरिँदैछ।हाल नेपालमा क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी मानिने भएकोले यस्ता गतिविधि नियमन र निगरानी गर्न प्रहरीले निगरानी कडा बनाएको जनाएको छ।यससँगै प्रहरीले अनलाइनमार्फत हुने अवैध आर्थिक कारोबारमा पनि विशेष निगरानी बढाएको जानकारी दिएको छ।