काठमाडौं,पाकिस्तानको हबिब बैंकले नेपालस्थित हिमालयन बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर नेसनल लाइफ इन्स्योरेन्सलाई बिक्री गर्न स्वीकृति दिएको छ। संस्थापक सेयरधनी नेसनल लाइफले प्रस्तुत गरेको प्रस्तावलाई 'आकर्षक' ठहर गर्दै हबिबले सेयर बिक्री प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
सात वर्षदेखि सेयर बेच्ने प्रयासमा रहेको हबिबले यसअघिका विभिन्न चरणमा विदेशी खरिदकर्तासँगको सम्झौता टुट्नुका साथै पुँजीगत लाभकरका जटिलताका कारण डिल सफल बनाउन सकेको थिएन। पछिल्लो समय विवादास्पद व्यवसायी दीपक भट्टको नेतृत्वमा गठित २५ व्यावसायिक समूहको प्रिपेड योजनामार्फत हिमालयन रि इन्स्योरेन्सलाई सेयर सुम्पन हबिब राजी भएको थियो।
तर सेयर बिक्रीका लागि सार्वजनिक आह्वान भएपछि संस्थापक सेयरधनी नेसनल लाइफले बढी मूल्यको प्रस्ताव दिँदै प्रक्रिया उल्ट्याएको हो। हबिबले प्रति कित्ता ११२.८० रुपैयाँमा सेयर बिक्रीका लागि खुला गरे पनि नेसनलले अपेक्षाभन्दा उच्च मूल्य प्रस्तुत गरेपछि उक्त प्रस्ताव स्वीकार गरिएको हो।
हिमालयन बैंकलाई पठाइएको पत्रमा हबिबले नेसनलको प्रस्ताव स्वीकारिएको र प्रक्रियागत रूपमा अगाडि बढाउन अनुरोध गरेको छ। बैंकले आइतबार नेसनल लाइफलाई आवश्यक कानुनी कागजात पेस गर्न पत्र पठाएको छ।
यस घटनाले दीपक भट्ट समूहले बनाएको ‘आफूबाहेक अरूले सेयर नपाउने’ रणनीतिलाई चुनौती दिएको छ। बीमा, पूँजी बजार, क्रेडिट रेटिङ लगायत वित्तीय क्षेत्रका कम्पनीहरुमार्फत समृद्ध एम्पायर बनाउने उद्देश्यले भट्ट समूहले सेयर कब्जाको रणनीति बुनेको बताइन्छ।
हाल सेयर खरिद प्रक्रिया राष्ट्र बैंक र बीमा प्राधिकरणको औपचारिक स्वीकृतिको पर्खाइमा छ। राष्ट्र बैंक सकारात्मक देखिए पनि बीमा प्राधिकरणबाट अड्चन आउन सक्ने आशंका हबिब र नेसनल दुवैतर्फ छ।सूत्रका अनुसार नेसनलको प्रस्ताव सार्वजनिक भएलगत्तै हिमालयन बैंकको सञ्चालक समितिमा रहेका भट्ट पक्षका एक जना सञ्चालक आक्रोशित भएका थिए। उनले ‘किन पहिले नभनेको?’ भन्दै असन्तुष्टि जनाएका थिए। यस सेयर डिलले नेपालकै बैंकिङ क्षेत्रको स्वामित्व संरचना र शक्ति सन्तुलनमा प्रभाव पार्ने अनुमान गरिएको छ। यद्यपि, सबै नियामक स्वीकृतिहरू पार भएपछि मात्र अन्तिम रूप लिनेछ।