काठमाडौं,नेकपा (माओवादी केन्द्र)ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पार्टी एकता गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। सोमबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो।बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी एकताको लागि वार्ता प्रक्रिया सुरु गर्न विशेष समिति गठन गर्ने निर्णय गरिएको जानकारी दिए। “विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय भएको छ,” सापकोटाले भने, “छिटै वार्ता सम्पन्न गर्ने समिति बनाएर प्रक्रिया अघि बढाइनेछ।”
सापकोटाका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयहरूसँगै आन्तरिक संगठनात्मक विषयहरूबारे पनि गहन छलफल गरिएको थियो।विप्लव नेतृत्वको नेकपा हाल गैरसांसदीय धारमा सक्रिय छ भने माओवादी केन्द्र सत्ता साझेदार दलका रूपमा क्रियाशील रहेको छ। दुई पार्टीबीचको सम्भावित एकता नेपाली वाम राजनीतिको नयाँ मोडको रूपमा हेरिएको छ।