काठमाडौं,राष्ट्रिय परीक्षा बोर्ड अहिले १२ कक्षाको नतिजा सार्वजनिक गर्ने तयारीमा जुटिरहेको छ। बोर्डको बैठक हाल सिंहदरबारस्थित केन्द्रीय कार्यालयमा जारी छ। नतिजा प्रकाशित गर्नु अघि औपचारिक निर्णय गर्न बोर्ड बैठक बसिरहेको हो।यसअघि, आइतबार बोर्डले नतिजाको ‘डेमो’ परीक्षण सम्पन्न गरेको थियो, जसलाई अन्तिम रूप दिने तयारी भइरहेको छ। बोर्डको वार्षिक क्यालेन्डरअनुसार साउन १५ भित्र नतिजा सार्वजनिक गर्नुपर्ने भए पनि शिक्षकहरूको लामो आन्दोलनका कारण यसपटक ढिलाइ भएको हो। गत २० चैतदेखि देशभरिका शिक्षकहरूले आन्दोलन सुरु गरेपछि परीक्षा तालिकामा समेत परिवर्तन भएको थियो। ११ वैशाखमा हुनुपर्ने परीक्षा १० दिनपछि सरेर २१ वैशाखदेखि सुरु भएको थियो।यस वर्ष ५ लाख ११ हजार ५ सय २५ विद्यार्थीले परीक्षा दिएका छन्। बोर्ड स्रोतका अनुसार प्राविधिक तयारी अन्तिम चरणमा पुगेको छ र केही दिनमै नतिजा सार्वजनिक गरिनेछ। बोर्डको बैठकपछि आधिकारिक मिति र समय तय भई नतिजा अनलाइनमार्फत सार्वजनिक गरिने तयारी छ। विद्यार्थीहरूले नतिजा हेर्न बोर्डको आधिकारिक वेबसाइट, एसएमएस सेवा तथा मोबाइल एप प्रयोग गर्न सक्नेछन्।