काठमाडौं, राजावादी आन्दोलन र बैंकिङ कसुरसम्बन्धी दुई फरक मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालत, पाटनले आदेश दिएको छ। अदालतको निर्णयसँगै उनी डिल्लीबजार कारागारबाट मुक्त हुने मार्गमा छन्। १५ चैतमा भएको हिंसात्मक राजावादी प्रदर्शनमा संलग्न रहेको आरोप लागेका प्रसाईंमाथि राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवजस्ता गम्भीर आरोपमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो। जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसपछि प्रसाईंले सो आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए।
उच्च अदालत, पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उनलाई प्रदर्शनसम्बन्धी मुद्दामा ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। त्यस्तै, बैंकिङ कसुरसम्बन्धी मुद्दामा न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
अदालतले भने प्रसाईं तत्काल निर्दोष छन् भनेर भन्न नसकिने स्पष्ट पारेको छ। तर उनी क्यान्सर रोगबाट पीडित रहेको, उपचारको खाँचो रहेको र अनुसन्धान सहयोग गर्न सक्ने देखिएकाले धरौटीमा छाड्ने निर्णय गरिएको उल्लेख छ।
झापाको बिर्तामोड नगरपालिका–५ निवासी ५४ वर्षीय प्रसाईं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजकका रूपमा सक्रिय थिए। प्रहरीको दाबी अनुसार १५ चैतको प्रदर्शन उनकै योजनामा भएको थियो र उनले भिडलाई उच्छृंखल अभिव्यक्तिद्वारा उत्तेजित पार्ने, निषेधित क्षेत्र तोड्न लगाउने र सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास गर्ने कार्यमा संलग्न थिए। उनी भारतमा लुकेर बसेको अवस्थामा पक्राउ परेर नेपाल ल्याइएको थियो। अहिले धरौटीमा रिहा भएसँगै उनीमाथि लागेका गम्भीर आरोपहरूको छानबिन भने जारी रहनेछ।