काठमाडौं । वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । शाखाले उत्पादमूलक क्षेत्रतर्फ तीन हजार पाँच सय तथा कृषि तथा पशुपालन क्षेत्रतर्फ एक हजार आठ सय गरी कुल पाँच हजार तीन सय कोटाका लागि आवेदन माग गरेको हो ।
यसअनुसार एक व्यक्तिले एउटामा मात्र दरखास्त दिन पाउनेछ । शाखाका अनुसार यही साउन २६ देखि ३१ गतेसम्म परीक्षाका लागि आवेदन दिन पाइनेछ । आवेदकहरुको परीक्षा काठमाडौं केन्द्रबाट सञ्चालन हुनेछ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएका र कोरियामा गई गैर–कानुनीरुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाएकालगायतका सर्त पूरा भएका युवाहरुले आवेदन दिन पाउने छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच सम्पन्न समझदारी–पत्र (एमओयू) अनुरूप रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियामा नेपाली नागरिकलाई श्रमिकको रुपमा पठाउने प्रयोजनका लागि भाषा परीक्षा लिन लागिएको हो । परीक्षामा योग्य उम्मेदवारको छनौट गर्न २०२५ मा प्रथम चरणको भाषा परीक्षा सञ्चालन गर्न मानव संशाधन बोर्ड (एचआरडी) बाट परीक्षा कार्यक्रमको तालिका प्राप्त भएअनुरुप शाखाले परीक्षा सञ्चालनको तयारी गरेको हो ।
परीक्षाको मिति भनेपछि सार्वजनिक गरिने शाखाका महानिर्देशक कमल प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार कोरियामा कामदारको मागअनुसार उत्तीर्ण संख्या समेत घटबढ हुन सक्ने छ । परीक्षाको समय भने तय नभएको कारण सार्वजनिक गर्न नसकिएको बताइएको छ ।
हाल कोरिया कामदार जाने प्रतीक्षा सूची (रोस्टर) मा २० हजार जना रहेको समयमा शाखाले भाषा परीक्षाको लागि आवेदन माग गरेको हो । हाल उत्पादनमूलक क्षेत्रका १० हजार तीन सय ११ जना, कृषि तथा पशुपालन क्षेत्रका छ हजार चार सय ८३ जना र सिप बिल्डिङ क्षेत्रका तीन हजार दुई सय ७० जना कोरिया जाने प्रतीक्षा रहेका छन् । त्यस्तै, २० हजारमध्ये कृषि तथा पशुपालन र सिप बिल्डिङ क्षेत्रका भने दुई वर्षे रोस्टर अवधि सकिन केही महिना बाँकी रहेको छ । कृषि तथा पशुपालन क्षेत्रका ८५ जना र सिप बिल्डिङ क्षेत्रका नौ सय चार जनाको भने दुई वर्षे रोस्टर अवधि सकिन बाँकी छ ।
दुई वर्षभित्र पनि कोरियाले माग नगरे रोस्टर समाप्तिपछि पुनः परीक्षा दिनुपर्ने हुन्छ । उत्पादनमूलक क्षेत्रका एक हजार १९ जनाले भने एक वर्षे रोस्टर अवधि सकिएको छ भने प्रतीक्षा अवधिमा पुनः रोजगार आवेदन दिनुपर्ने भएको छ । कोरियाले कामदारको अभाव खेप्नु नपरोस् भनेर भाषा परीक्षा सञ्चालन गर्दछ ।
सन् २०२४ को सबै क्षेत्रको भाषा परीक्षामा एक लाख ३६ हजार चार सय ४५ जना सहभागी भएका थिए । सो तथ्याङ्कलाई आधारमान्दा २०२५का लागि पनि सोही हाराहारीमा परीक्षामा सहभागी हुने शाखाका अधिकारीहरु बताउँछन् । कोरिया आकर्षक रोजगारीको केन्द्र हो, सेवासुविधा पनि राम्रो छ । त्यसैले गर्दा आवेदकको संख्या पर्याप्त हुने छ,’ अधिकारीहरुले भने । ईपीएसअन्तर्गत हालसम्म करिब ६५ हजार जना भन्दा बढी नेपाली युवा कोरिया पुगिसकेका छन् । नेपाली कामदारहरू कर्तव्यनिष्ठ इमान्दार र लगनशील भएकाले कोरियन रोजगारदाताको छनोट उच्च प्राथमिकतामा पर्ने गरेका छन् ।