काठमाडौ । सङ्घीय संसद्अन्तर्गत् प्रतिनिधिसभाको बैठकले ‘विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ ।
सोमबार बसेको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस्’ भनी प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावमाथिको छलफलपछि उक्त सम्झौतालाई अनुमोदन गरिएको हो ।
छलफलमा सांसद रमा कोइराला पौड्याल, हेमराज राई, हितराज पाण्डे, प्रेम सुवाल सहभागी भएका थिए । मन्त्री भण्डारीले एक बहुपक्षीय सम्झौता भएको र कार्यान्वयन भएको खण्डमा विश्व व्यापार संगठनसँग नेपालका थप माग र मुद्दाले प्राथमिकता पाउने बताए । उनले भने, ‘हालसम्म एक सय छ वटा राष्ट्रले समर्थन जनाइसकेका छन् । यो सम्झौताले मुलुकलाई लाभ नै प्राप्त हुन्छ । यसको सान्दर्भिकता र महत्व छ । भू–परिवेष्ठित राष्ट्र भए पनि समुद्रमा पनि नेपालको पनि अधिकार छ । सम्झौताले नेपालमा उत्पादित माछाले बजार पाउँछन् ।’