काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गण्डकी प्रदेशको मानवसेवा आश्रमलाई एक हजार लिटरको सोलार साथै सोलार बत्तीहरू हस्तान्तरण गरेको छ । पोखरास्थित आश्रममा आयोजित एक कार्यक्रमबीच उक्त सोलार सामग्री हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार हस्तान्तरण कार्यक्रमको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले कार्यक्रमको अध्यक्षता गरेका थिए । बैंकका संस्थापक शेयरधनीहरू राजेन्द्र कुमार बाटाजु, प्रा. डा. हरि पाठक, श्री शालिकराम घिमिरे, विमल बहादुर कुँवर र ओम कुमार मुल्मीको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । यस अवसरमा मानवसेवा आश्रमका संस्थापक अध्यक्ष, रामजी अधिकारीले आफ्नो मन्तव्य राखेका थिए ।
बैंकको तर्फबाट संस्थापक शेयरधनीहरू, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत लगायतले एकमुष्ट रूपमा सोलार सामग्री हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा एनएमबि बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय, मानवसेवा आश्रमका महासचिव सुशीला के. सी. (रूपा), रिटेल तथा साना व्यवसाय प्रमुख गणेश पराजुली, एनएमबि बैंकका प्रदेश प्रमुख दुर्गा राम पुरी लगायत बैंकका अन्य कर्मचारी र मानवसेवा आश्रमका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।