काठमाडौं । परम्परागत औजार ‘ढिकी जाँतो’को नामबाट केही युवाले काठमाडौंमा स्थानीयस्तरमा उत्पादन हुने खाद्य सामग्रीलाई संकलन गरेर सहरवासीको भान्सामा पुर्याउने काम गर्न थालेका छन् ।
चार्टर एकाउन्टेन्ट कृष्ण प्रसाद शर्मा, आईटी इन्जिनियर अश्विन सापकोटा र उनीहरूका अन्य साथीहरूबीच स्थानीयस्तरमा उत्पादन हुने स्थानीय प्रजातिका खाद्यान्नलाई सिधै उपभोक्ताको भान्सासम्म पुर्याउन उनीहरुले ‘ढिकी जाँतो’ सञ्चालनमा ल्याएका हुन् । विशेषतः विभिन्न हिमाली तथा पहाडी क्षेत्रका कृषकहरुको स्थानीय रैथाने उत्पादनलाई उचित मूल्य प्रदान गरी उक्त उत्पादित कृषिजन्य वस्तुहरुलाई सहरी क्षेत्रका उपभोक्तासम्म पुर्याउने हेतुले ढिकी जाँतो –‘फार्म फ्रम होम’ अवधारणा ल्याइएको सञ्चालकहरुको भनाइ छ । ‘स्थानीयस्तरमा उत्पादन हुने खाद्य सामग्रीहरूलाई संकलन एवं प्रशोधन गरी उपभोक्तहरूको भान्सामा पुर्याउन हामीले छुट्टै प्रणाली स्थापना गरेका छौँ,’ सञ्चालक शर्मा भन्छन्, ‘ढिकी जाँतो वेबसाइटमार्फत उत्पादक र उपभोक्तालाई सिधै जोड्ने प्रणालीको विकास गर्ने योजना गरेका छौँ ।’
उनका अनुसार स्थानीय उत्पादन भन्नेबित्तिकै प्रायः सबैले अर्गानिक भन्दै बजारीकरण गरिरहेको देखिन्छ । ‘अर्गानिक मुखले भनेर मात्र हुने कुरा होइन, उत्पादन प्रक्रियादेखि नै अनुगमन हुनुपर्ने र सर्टिफाई गर्ने प्रक्रिया एवं विधि पनि लामो हुने भएकाले हाम्रो अहिलेको प्राथमिकता रैथाने उत्पादनलाई उपभोक्तामाझ पर्याउनु रहेको छ’, सञ्चालक शर्मा भन्छन् । जुन भूगोलमा उत्पादन भएको खाद्य सामग्री हो, त्यसलाई त्यही भूगोलकै भनेर जेन्युन खाद्य सामग्री उपभोक्ताको भान्सामा पुर्याउने गरिएको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार जुम्ला, मुस्ताङलगायत हिमाली जिल्ला र उच्च पहाडी जिल्लामा उत्पादन हुने खाद्य सामग्री संकलन गरेर ल्याउने त्यसलाई प्रशोधन गरेर जुन जिल्लाको उत्पादन हो त्यो उपभोक्तालाई जानकारी दिएर बिक्री वितरण गर्ने गरिएको छ । कम्पनीले स्थानीय किसानहरूबाट खाद्य वस्तुहरूको संकलन गरेर ढिकी जाँतो संकलन केन्द्रमा ल्याउने गरेको छ ।
यसरी संकलन गरेको खाद्य सामग्री ढिकी जाँतो प्रशोधन केन्द्रमा पुर्याइन्छ । प्रशोधन केन्द्रबाट ढिकी जाँतो प्याकेजिङ केन्द्रमा लगेर प्याकेजिङ गरिसकेपछि सामाजिक सञ्जाल, वेबसाइट, ढिकी जाँतो स्टोरमार्फत उपभोक्तको भान्सासम्म खाद्य सामग्री पुर्याउन व्यवस्था मिलाइएको अर्का सञ्चालक सापकोटा बताउँछन् । ढिकी जाँतोको नर्सरी चोक, ढुंगेधारा, वनस्थली र सामाखुशीबाट टोखा जाने बाटोको टोखा रोड, खरिबोट, काठमाडौंमा स्टोर रहेको छ । अनलाइनबाट अर्डर गर्ने उपभोक्ताहरूलाई ढिकी जाँतोले होमडेलिभरी गर्ने व्यवस्था मिलाएको छ ।
ढिकी जाँतोले युवालाई कृषिमा आकर्षित गराउन, किसानलाई रैथाने बाली लगाउन अभिप्रेरित गर्न तथा किसानले उत्पादन गरेका कृषि उपजको बजारीकरणको व्यवस्था गर्ने काम गरिरहेको छ । कम्पनीले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानबाट सहुलियतपूर्ण स्टार्टअप कर्जा पनि प्राप्त गरिसकेको छ । ढिकी जाँतोले चामल, दाल, गेडागुडी, पिठो, च्याख्ला एवम् परम्परागत खाद्य वस्तुहरु जस्तै गुन्द्रुक, मस्यौरालगायत अन्य रैथाने उत्पादनलाई उपभोक्तको भान्सासम्म पुर्याउँदै आइरहेको छ ।
साथै, उत्पादनहरु विभिन्न थकाली तथा अन्य रेस्टुरेन्टमार्फत उपभोक्तामाझ पुर्याउँदै आएको छ । विशेषतः मुस्ताङको स्याउ, आलु, लसुन, कालो सिमी, कर्णालीको सिमी, मकै, जौ, कोदो, मार्सी चामल, चिनो, कागुनो, ओखर, जिम्बु, बेसार आदि, बाग्लुङको भुटेको मकै, भांगो, पर्बतको जेठो बुढो चामललगायत विभिन्न रैथाने खाद्य वस्तुहरुको प्रशोधन, प्रवर्द्धन र बिक्री वितरण गरिरहेको कम्पनीले जनाएको छ ।