काठमाडौँ । सभामुख देवराज घिमिरे समक्ष ‘सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ले मंगलबार प्रतिवेदन बुझाएको छ । समितिका संयोजक जीवन परियारले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सभामुखलाई सो प्रतिवेदन बुझाएका हुन् ।
समितिले सोमबार रातभर सिंहदरबारमा बसेर तयार गरेर समितिले मंगलबारको प्रतिनिधिसभा बैठकमा पेस गर्ने निर्णय गरेको थियो । समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको हो ।
गत असार २३ गते प्रतिनिधिसभाले उच्चस्तरीय छानबिन विशेष समिति गठन गरेको थियो । समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेपाल कम्यनिष्ट पार्टी (एमाले)बाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहेका छन् ।