हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
बानियाँ बागमती प्रदेशको छैटौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका हुन् । यसअघि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा तामाङ प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नवनियुक्त मुख्यमन्त्री बानियाँले मंगलबार नै मुख्यमन्त्रीको सपथ लिएका छन् । मुख्यमन्त्रीसँगै केही मन्त्रीहरुले पनि सपथ लिएका छन् । प्रदेश प्रमुख देवकोटाले बाँस्कोटाले उनीहरुलाई सपथ खुवाएका थिए । बागमती प्रदेशमा सरकार साझेदार दल नेकपा एमालेले सबै मन्त्री टुङ्ग्याउँदा नेपाली कांग्रेसले भने दुई जनालाई मात्रै मन्त्री बनाएको छ । त्यसमा पनि एक जना मन्त्रीको मात्रै मन्त्रालय टुङ्ग्याएर एउटा विनाविभागीय मन्त्रीलाई सपथ खुवाएको छ । कांगे्रसले आफ्नो भागमा परेका सात जना मन्त्रीमध्ये पाँच मन्त्रीको नियुक्ति बाँकी राखेको छ ।
बागमती प्रदेशमा कांग्रेसले कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनाएको छ भने शिवराज अधिकारीलाई विनाविभागीय मन्त्री बनाएको छ । यस्तै, एमालेले मधुसुदन पौडेललाई कृषि तथा पशुपन्छी विकासमन्त्री, डा. दिनेश चन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री, जयराम थापालाई श्रम रोजगार तथा यातायातमन्त्री, भरतबहादुर केसीलाई वन तथा वातावरणमन्त्री, किरण थापालाई स्वास्थ्यमन्त्री र विन्दु श्रेष्ठलाई उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री बनाएको छ । एमालेले छ मन्त्रीमध्ये पाँच जना नयाँ अनुहार पठाएको छ भने स्वास्थ्यमन्त्री किरण थापालाई भने दोहो¥याएको छ । उनी यसअघि बहादुरसिंह लामा मुख्यमन्त्री हुँदा पनि स्वास्थ्यमन्त्री थिए ।