काठमाडौं । बैंक तथा वित्त कम्पनीहरुमा कुल निक्षेप खाताको संख्या झण्डै छ करोड पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म ५४ बैंक तथा वित्त कम्पनीहरुमा कुल निक्षेप खाता पाँच करोड ९४ लाख २९ हजार तीन सय ६७ पुगेको हो ।
यस अवधिमा सञ्चालनमा रहेको कुल कर्जा खाताको संख्या भने १९ लाख ६६ हजार पाँच सय ५८ मात्र छ । नेपाल राष्ट्र बैंकका अनुसार आव २०८०/८१ कुल निक्षेप खाता पाँच करोड ५४ लाख ७५ हजार नौ सय १८ र कुल कर्जा खाता १९ लाख एक हजार ५१ थियो ।
आव २०८१/८२ मा वाणिज्य बैंकहरुमा मात्र पाँच करोड नौ लाख ८६ हजार एक सय ७१ निक्षेप खाता खुलेको छ भने १६ लाख ४४ हजार पाँच सय ४५ कुल कर्जा खाता छ । अघिल्लो आवको सोही अवधिमा वाणिज्य बैंकमा चार करोड ७५ लाख १२ हजार सात सय चार निक्षेप खाता र १५ लाख ७१ हजार ३८ कर्जा खाता थियो ।
त्यसैगरी, विकास बैंकहरुमा गत आवको जेठसम्म ७४ लाख ७५ हजार तीन सय ४७ निक्षेप खाता र दुई लाख ७१ हजार २७ कर्जा खाता सञ्चालनमा रहेको पाइएको छ । अघिल्लो आवमा विकास बैंकहरुमा ७० लाख ८४ हजार चार सय ४९ वटा निक्षेप खाता र दुई लाख ८६ हजार नौ सय ६७ वटा कर्जा खाता थियो ।
त्यसैगरी, फाइनान्स कम्पनीहरुमा गत जेठसम्म नौ लाख ६७ हजार आठ सय ४९ निक्षेप खाता र ५० हजार नौ सय ८६ कर्जा खाता रहेको तथ्याङ्कले देखाएको छ । अघिल्लो आवको सोही अवधिमा आठ लाख ७८ हजार सात सय ६५ वटा निक्षेप र ४३ हजार ४६ कर्जा खाता थियो ।
बैंक तथा वित्त कम्पनीहरुले उक्त अवधिमा छ हजार पाँच सय १८ शाखा खोलेका छन् । यसमा वाणिज्य बैंकहरुको पाँच हजार ९५, विकास बैंकहरुको एक हजार एक सय ३२ र फाइनान्स कम्पनीहरुको दुई सय ९१ वटा शाखाहरु सञ्चालनमा रहेको देखिएको छ । अघिल्लो आवको सोही अवधिमा कुल शाखा संख्या छ हजार चार सय ५२ रहेको थियो । जसमा वाणिज्य बैंकहरुको पाँच हजार ३०, विकास बैंकहरुको एक हजार एक सय ३४ र फाइनान्स कम्पनीहरुको दुई सय ८८ वटा शाखाहरु सञ्चालनमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।