दोलखा । आलु खेतीको उर्वरभूमिको रूपमा रहेको दोलखाको जिरी नगर क्षेत्रका स्थानीय किसानहरुले आलुको मूल्य नपाउँदा सस्तोमा बिक्री गर्न बाध्य भएका छन् ।
यहाँका किसानहरुले गत वर्षको भन्दा प्रतिकेजी ३० रुपैयाँ सस्तोमा आलु बिक्री गर्ने गरेका छन् । राजधानीलगायतका बजारमै आलुको मूल्यमा गिरावट आएको भन्दै ठेकेदारले कम मूल्य दिएर आलु लाने गरेको यहाँका किसानहरु बताउँछन् । गत वर्ष ६० देखि ७५ रुपैयाँ प्रतिकेजीसम्म बिक्री भएको आलु अहिले ३० देखि ३६ रुपैयाँमा झरेको छ । आलुको मूल्य घट्दा किसानले उत्पादनको लगानी समेत उठाउन हम्मेहम्मे पर्नेतर्फ चिन्ता व्यक्त गरेका छन् । ‘बिउ मूल्य नै प्रतिकेजी ६०/७० रुपैयाँमा ल्याउनुपर्ने हुन्छ । अन्य मल–मेहनत जोड्दा लगानी नै नउठ्ने देखिन्छ’, किसान सोनी शेर्पाले भनिन् ।
भारत र भुटानबाट आउने आलुको कारण नेपालका ग्रामीण किसानले उत्पादन गरेको आलुको मूल्य घटेको आलु कृषकहरु बताउँछन् । ‘भारतबाट आउने आलुले सहजरूपमा बजार र मूल्य पाउछ, तर नेपालमै उत्पादन भएको आलुले न बजार पाउछ, न त मूल्य नै’, शेर्पा भन्छिन् । सरकारले समयमा नै आलुको समयमै मूल्य नतोक्दा पनि स्वदेशी आलुको मूल्य अन्यौलमा रहेको आलु व्यवसायीहरु बताउँछन् । जिरीबाट वार्षिक १० करोड बराबरको आलु काठमाडौं निर्यात हुँदै आएको छ । मुख्यगरी जिरीको बुलडाँडा र ठूलोपातालबाट धेरै आलु निर्यात हुने गरेको छ । त्यसैगरी, सिक्री, त्रिशुले, माली, श्यामा, यलुङ, सिउरानी, ओखरे, ढुंगे, भण्डारे र खावाबाट पनि हजारौँ टन आलु सिधै काठमाडौं निर्यात हुने गरेको छ ।
जिरीको आम्दानीको मुख्य स्रोत आलु तथा कृषि उपज नै हो । जिरीका एक किसानले सिजनमा न्यूनतम दुई लाखदेखि सात लाख रुपैयाँसम्मको आलु बिक्री गर्ने गरेका छन् । जिरी–६ बुलडाँडाका स्थानीय अहिले आलु खन्न व्यस्त छन् । यहाँका २०/२२ घरधुरीले विगतमा आलुबाट लाखौँ आम्दानी गर्ने गरेको स्थानीय सोनी शेर्पाले बताइन् । तर यस वर्ष भने सोचेजस्तो मूल्य नपाएको उनको गुनासो छ । कुनै समय बुलडाँडाबाटै वार्षिक दुई करोड बढीको आलु राजधानीमा निर्यात हुने गरेको थियो । तर अहिले यहाँ आलुको उत्पादनमा समेत गिरावट आएको छ ।
गाउँ युवाविहीन बन्दा ६० प्रतिशत आलु खेती घटेको स्थानीय दावा शेर्पाले बताए । ‘गाउँमा युवा नहुँदा गाउँमा भएका बुढापाकाले नै खेती धान्नुपर्ने हुन्छ’, उनले भने, ‘पहिलेजस्तो मान्छेहरु गाउँमा छैनन् । गाउँमा मान्छे नभएकै कारण पहिलेजस्तो आलु खेती तथा उत्पादन हुन छाडेको छ ।’ यहाँबाट खनेको आलु किसाले लिंकन बजारसम्म लैजानै गरेका छन् । ‘त्यहाँ स्टोर र आलुको तौल हुन्छ, त्यसपछि ठेकेदारले टिप पु¥याएर काठमाडौं लाने गरेको छन्’, कृषक शेर्पाले भने ।
आलु संकलक तथा बिक्रेता ठेकेदार याम बहादुर जिरेलका अनुसार जिरीबाट गत वर्ष झण्डै १२ करोड बराबरको आलु काठमाडौं निर्यात गरिएको थियो । यस वर्ष केजीमै २५ रुपैयाँले मूल्य घटेकोले १० करोड रुपैयाँ बराबरको आलु निर्यात हुने अनुमान गरिएको उनले बताए । जिरीमा जिरेलजस्तै अन्य तीन जना आलु विक्रेता ठेकेदार छन् । उनले यस वर्षको पहिलो सिजनमा एक करोडमाथिको आलु संकलन गरेर २२ टिप आलु काठमाडौं ढुवानी गरेको बताए । उनका अनुसार आलुको सिजन असोजसम्म चल्ने गर्छ । अझै तीन करोड बराबरको आलु आफूले नै निर्यात गर्ने जिरेल बताउँछन् ।
बुलडाँडा, माली, श्यामाजस्ता दुर्गम गाउँमा ठूला गाडी आलु लिन जान नसक्ने हुँदा बोलेरोलगायतका साना सवारी गाउँ पठाएर आलु संकलन गरिरहेको उनले बताए । साना सवारीसाधन गाउँसम्म पुग्न थालेपछि किसानका उत्पादनले सजिलै बजार पाउन थालेको जिरेलको अनुभव छ । जेठको अन्तिम सातादेखि असोजको पहिलो सातासम्म आलु संकलन गरी कालिमाटी बजारमा पठाइने गरेको जिरेलले बताए ।