काठमाडौ । चौथो संस्करणको डिजिटल नेपाल कन्क्लेभ आयोजना हुने भएको छ । आईसीटी फाउन्डेसन नेपालले आगामी साउन ३० गते शुक्रबार ‘इम्पावरिङ डिजिटल नेपाल दुगेदर’ नारासहित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ आयोजना गर्न लागेको हो ।
यस वर्षको मुख्य थिम ‘डिजिटल सिनर्जीः ट्रान्सफर्मिङ गभर्नेन्स, इकोनोमी एन्ड सोसाइटी’ रहेको छ । कन्क्लेभमा आठ बढी सेसनमा राष्ट्रिय, अन्तर्राष्ट्रिय विज्ञहरुसहित ५० बढी वक्ताहरु रहेका छन् । अन्तर्राष्ट्रिय कम्पनी गुगलको समेत सहभागिता हुने कन्क्लेभमा डिजिटल गभर्नेन्स, डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर, डिजिटल स्वास्थ्य, डिजिटल इकोनोमी, आईसीटी इन्डस्ट्री डिस्कोर्स, पावर संवादलगायतका सेसन हुने जनाइएको छ । साथै, कन्क्लेभमा शोधपत्र (रिसर्च पेपर) प्रस्तुतिको अवसर समेत प्रदान गरिने छ । डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गतका विभिन्न आठ क्षेत्रहरुलाई समेटेर रिसर्च पेपर र नवीन प्रविधि तथा पहलहरूलाई (डिजिटल इनिसिएटिभ्स)हरु प्रस्तुत हुनेछन् । कन्क्लेभमा १५ बढी डिजिटल इनिसिएटिभ्स(प्रडक्ट)हरु सोकेसमा पनि रहने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा संघ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि, नीति निर्माता, विज्ञ, उद्यमीसहित पाँच सय बढीको प्रत्यक्ष सहभागिता रहने अपेक्षा छ । चौथो संस्करणको रुपमा आयोजना भइरहेको ‘डिजिटल नेपाल कन्क्लेभ’ मा सहभागिताको लागि वेबसाइटमार्फत टिकट खरिद गर्न सकिनेछ ।