काठमाडौं, साउन ३२
नेपाल उद्योग वाणिज्य महासंघले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा पनि दिनानुदिन बढ्दै गइरहेकोले सरकारको मात्र भर नपरी सहयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेको छ । महासंघले आफ्ना सबै सदस्यहरूलाई अहिलेको यो अति नै संवेदनशील अवस्थामा सरकारको मात्र भर नपरी आ–आफ्ना तर्फबाट आ–आफ्ना क्षेत्रमा सक्दो सहयोग गर्न आग्रह गरेको हो ।
महामारीको संवेदनशील घडीमा सबैभन्दा पहिलो प्राथमिकता स्वास्थ्य सुरक्षा नै भएको भन्दै संक्रमणबाट जोगिन सरकारले निर्देश गरेका सबै स्वास्थ्य प्रोटोकलहरूलाई पालना गर्न महासंघले आग्रह गरेको छ । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारहरू निरन्तर क्रियाशील रहेको बताउँदै महासंघले सरकारले चालेका कार्यक्रम, योजना, घोषणाहरुलाई सफल कार्यान्वयनमा लैजान सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने बताएको छ ।
साथै महासंघले तीनै तहका सरकारले यस दिशामा गरेका सबै पहललाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ । एकाध जिल्लालाई छोडेर सबै जिल्लाहरूमा यसको संक्रमण तेज गतिमा बढिरहेको छ । खासगरी काठमाडौं उपत्यका, तराईका मोरङ, पर्सा बाँके, धनुषा, स्याङ्जालगायतका धेरैवटा जिल्ला र नगरहरू अहिले यसको उच्च जोखिममा छन् भने अन्य जिल्लाहरू पनि आक्रान्त हुँदै छन् । यसले मुलुकवासीको एकातिर स्वास्थ्य सुरक्षा निकै पेचिलो बन्दै गएको छ भने अर्कोतिर अर्थतन्त्रमा गम्भीर धक्का लागेको महासंघले जनाएको छ ।